जनकपुरधाम, २२ असार । तेल चोरीको घटनामा ट्यांकर चालकलाई रंगेहात पक्राउ गर्दापनि नेपाल आयल निगम लिमिटेड इन्धन डिपो महेन्द्रनगर धनुषाले चालकलाई कारवाही गर्नबाट आनाकानी गर्दै आएको खुलेको छ ।

गत असार ३ गते युआरडी टे«डर्स एण्ड सप्लायर्स लक्ष्मीनियालाई पठाइएको ७ हजार ९४७ लिटर पेट्रोलमा १ सय लिटर पेट्रोल गायव रहेको पाइएको थियो । सो सम्वन्धमा आयल निगमले समेत चेकजाँच गर्दा तेल गायव रहेको भनेर सहिछाप समेत गरेर हालसम्म दोषीलाई कारवाही गरी पम्प संचालकलाई क्षतिपुर्तिका लागि पहल नगरेको देखिएको छ ।

असार ३ गते पम्पलाई निगमको विल नम्बर ८००८–८०००१५३७८ र टैंकर नम्बर ना ७ ख १५०६ बाट युआरडी टे«डर्सको नाममा ७ हजार ९४७ लिटर पेट्रोल पठाइएको थियो । जसअनुसार टैंकरको चेम्वर नम्बर ४ को डिप १३४.९० र ५ को डिप १३६.७० बाट पम्पमा पठाउँदा पम्प वार्डमा नापजोख गर्दा चेम्वर नम्वर ५ को डिप १३३.५० र चेम्वर नम्बर ४ को डिप १३५.६० देखिएको थियो । चेम्वर पाँचमा सय लिटर पेट्रोल घटी देखिएपछि संचालक उर्मीला कुमारीले आयल निगम महेन्द्रनगर प्रमुखलाई तत्कालै जानकारि गराएकी थिईन । निगमले पाँच जनाको टोली सोहि दिन पठाई चेकजाँच गर्दा उल्लेखित डिप र घटीको पुष्टि भई निगमको टिमबाट चालक र पम्पको प्रतिनिधीलाई भर्पाइ समेत बुझाएको थियो ।

भर्पाइ बुझाएको दुई साता भन्दाबढि बितिसकेपनि निगमले दोषीमाथि कारवाही गर्न सकेको छैन भने पम्पलाई क्षतिपुर्तिका लागि पहलसम्म नगर्नुमा निगमको कार्यशैली शंकास्पद बनेको छ । यता यस सम्बन्धि आयल निगम महेन्द्रनगर डिपोका निमित्त प्रमुख दिपेन्द्र चौधरीसँग कुराकानी गर्दा सो घटनामा चालक दोषी पाईएको स्विकार गर्दै प्रमुख जिल्ला अधिकारी काशिराज दाहालको रोहबरमा दोषीलाई कानुनी कारवाही गरिने भनेर सहमती भइसकेकोले निगमले प्रक्रिया अगाडी बढाउने कुरा नरहेको बताए ।

सय लिटर पेट्रोल गायव सम्बन्धि घटनाको विषयमा पेट्रोलियम डिलर्स एसोशिएसनका अध्यक्ष विष्णुदेव साहसँग प्रतिक्रिया लिँदा उनले घटनालाई ढाकछोप गर्ने प्रयास भइरहेको बताए । उनले भने, ‘निगमबाट पठाइएको तेल पम्पमा बुझाउनुपर्ने हो । त्यसमा गडवडी भए कारवाही हुने कानुन रहिआएको अवस्थामा सय लिटर तेल गायव भएपनि क्षतिपुर्तिका लागि पहल समेत नहुनु दुःखद छ । हामी दोषीमाथि कडा भन्दा कडा कानुनी कारवाही होस भन्ने चाहिरहेका छौं ।’

निगमका निमित्त प्रमुख चौधरीले सिडीओ कार्यालयमा कानुनी कारवाहीका लागि सहमती भएको भनेर अभिव्यक्ति दिएपनि धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाललाई तेल चोरीको विषयमा कस्तो किसीमको सहमती भयो भनेर सम्पर्क गर्दा दमहालले निगम महेन्द्रनगर डिपोका निमित्त प्रमुख चौधरीलाई तेल गायव गर्ने दोषीलाई आयल निगमको नियमानुसार कडा भन्दा कडा कारवाही गर्न निर्देशन दिएको बताए ।

उनले भने, ‘सहमती असहमतीको विषय छैन । तेल घटि आएको छ भने छानवीन गरेर आयल निगमको नियमानुसार कारवाही गर्न भनेको छु ।’

यता निगमले सम्बन्धित दोषीमाथि कारवाही गर्न ढिलाई गरेपछि असार ७ गते पेट्रोल पम्प संचालकले दोषीमाथि कारवाही र क्षतिपुर्ति उपलब्ध गराउनका लागि महेन्द्रनगर डिपोलाई पत्र समेत पठाएको छ । सो पत्रको बोधार्थ नेपाल आयल निगम काठमाण्डौ, जिल्ला प्रशासन कार्यालय धनुषा, पेटोलियम डिलर्स एशोसिएसन जनकपुरधाम लगायतलाई गरिएको छ । विगत केहि वर्ष देखि टयांकरबाट तेल चोरी हुने घटना बढदो रहेपनि निगम सम्वेदनशील हुन नसक्दा घटनामा बढोत्तरी हुँदै आएको छ ।