काठमाडौं, २० असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिएको अभिव्यक्ति विवादित भइरहँदा सो विषयसँग सम्बन्धित व्यक्तिले मुख खोलेका छन् ।

सरदार प्रितम सिंहले प्रचण्डलाई प्रधानमन्त्री बनाउन दिल्ली नगएको बताएका हुन् ।

बुधबार राजधानीको एक होटलमा आयोजित एक कार्यक्रममा बोल्दै उनले भने, ‘हामीप्रति माया देखाउनलाई त्यसो भन्नुभएको होला । प्रधानमन्त्री बनाउन दिल्ली धाएको कुरा सत्य होइन ।’

आफू प्रचण्डलाई प्रधानमन्त्री बनाउन दिल्ली नगएको बरु भारतले नेपालमा नाकाबन्दी गरेका बेला दुई देशबीचको सम्बन्ध सुधारका निम्ति भारत गएको उनले बताए ।

नाकाबन्दी गर्नु भारतको ठूलो गल्ती रहेको बताउँदै उनले भने, ‘त्यसबेला राजनीतिक विषयमा कुनै पनि छलफल भएको छैन ।’

उनले आफ्नो सम्बन्ध पारिवारिक मात्र भएको र प्रधानमन्त्री प्रचण्डले बोलेका कुरा राजनीतिक नभएको स्पष्ट पारेका छन् ।

प्रधानमन्त्री प्रचण्डका स्वर्गीय छोरा प्रकाश दाहालसँग आफनो छोराको सम्बन्ध विशिष्ट रहेको समेत उनले दाबी गरे ।