काठमाडौं, २० असार । जिल्ला प्रहरी कार्यालय महोत्तरीका लेखापाल प्रहरी नायब निरीक्षक बिनोद बिष्टविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।

विष्टले भवन निर्माणको म्याद थप तथा भुक्तानी प्रक्रियामा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग २ लाख रुपैयाँ घुस लिएका थिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटेको टोलीले बिष्टलाई सेवाग्राहीबाट २ लाख रुपैयाँ लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको क्रममा विष्टले भवन निर्माणको म्याद थप र भुक्तानी प्रक्रियामा सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग घुस लिएको देखिंदा उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३(१)(घ) मा उल्लिखित कसुर भएको आयोगका प्रवक्ता भोला दाहालले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

विष्ट उपर २ लाख विगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३(१)(घ) बमोजिम कैद र विगो बमोजिम जरिवानाको मागदावी लिई विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।