सरकारका कामलाई नकारात्मक दृष्टिले मात्रै नहेरौं : गृहमन्त्री श्रेष्ठ

काठमाडौं, २० असार । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले गरेका कामलाई सकारात्मकरूपमा लिनुपर्ने बताएका छन् ।
बुधबार पत्रकारसँग कुराकानी गर्दै उनले सरकारका कामलाई नकारात्मक दृष्टिले मात्रै हेर्न नहुने बताए ।
उनले भने, ‘सरकारले जति काम गरेको छ त्यसलाई सकारात्मकरूपमा लिनुको सट्टा जति गरे पनि नकारात्मक हेर्ने दृष्टिकोणबाहेक केही पनि होइन ।’ भुटानी शरणार्थी र ललिता निवास जग्गा लगायतका भ्रष्टाचारका प्रकरणमा प्रहरीले स्वच्छ र स्वतन्त्र अनुसन्धान गर्ने उनले बताए ।
बर्षात सुरु हुने समयमा विपद्को तयारी के छ भन्ने प्रश्नमा उनले विपद्को जोखिम न्यूनीकरण र व्यवस्थापनअन्तर्गत तयारीको कामलाई व्यवस्थित र प्रभावकारी बनाइएको बताए ।
फरक प्रसङ्गमा उपप्रधानमन्त्री श्रेष्ठले प्रधानमन्त्रीले सरकार बनाउन भारतले सहयोग गरेको भन्ने कुरा सत्य नरहेको बताए । बाहिर आएका समाचार हेर्दा पनि प्रधानमन्त्री बन्न भारत जानुपर्छ भन्ने नदेखिएको उल्लेख गर्दै उनले नेपालको प्रधानमन्त्री नेपालको संसद्ले निर्वाचित गर्ने बताए ।
जननिर्वाचित सरकार र जनताको शासन प्रणालीका निम्ति सबैभन्दा बढी सङ्घर्ष गर्ने नेताले यहाँको सरकार बनाउनका निमित्त विदेशको मुख ताक्ने वा विदेशतर्फ धाउने कुरा हुन नसक्ने उनले बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


