काठमाडौं, २० असार । अर्थमन्त्री डा. प्रकाशशरण महतले राजस्व उठाउने काममा जिम्मेवार र कर्तव्यनिष्ठ भएर लाग्न राजस्वका कर्मचारीलाई निर्देशन दिएका छन् । बुधबार आन्तरिक राजस्व विभाग अन्तर्गत देशभरका कर्मचारीहरुलाई उनले यस्तो निर्देशन दिएका हुन् ।

उनले उच्च मनोबलकासाथ काम गर्न आग्रह गरे । उनले सेवाग्राही माझ सहज रुपमा प्रस्तुत हुन, व्यक्तिगत फाइदा नहेर्न समेत आग्रह गरे । डा. महतले व्यक्तिगत सुविधा लिने र त्यसबापत राज्यले प्राप्त गर्ने करमा सम्झौता गर्ने काम नहोस् भन्दै सजग समेत बताए ।

अर्थ मन्त्रालयको सबैभन्दा ठूलो काम स्रोत जुटाउने भएको भन्दै उनले राज्यका आवश्यकतालाई सम्बोधन गर्ने स्रोत जुटाउने जिम्मेवारीमा अर्थ मन्त्रालय मातहतका कर्मचारी रहेको बताए । त्यसमा सबैभन्दा ठूलो हिस्सा राजस्वको भएको उनको भनाइ छ ।

अहिले राजस्वको हिस्साले नपुगिरहेको सन्दर्भ निकाल्दै उनले राजस्वको हिस्साको प्रतिशतलाई बढाउनुपर्ने आवश्यकता औंल्याए ।राजस्वको दायरा बढाउँछौं भनेर मात्र नहुने भन्दै उनले अर्थतन्त्रले गति लिनुपर्ने बताए । त्यसका लागि सरकारले बजेट प्रस्तावमार्फत् पनि पूँजीगत खर्चलाई चलायमान बनाउने लक्ष्य राखेको उनको भनाइ छ ।

नेपाल सधैं भन्सारमा आधारित राजस्वमा निर्भर हुन नहुने भन्दै उनले आन्तरिक ऋण र विदेशबाट प्राप्त हुने ऋण उत्पादनमुखी क्षेत्रमा लगानी गर्नुपर्ने बताए । यसको सुरुवात भइसकेको भन्दै उनले आउँदा दिनमा आन्तरिक राजस्वको धेरै ठूलो जिम्मेवारी रहेको बताए ।

आन्तरिक राजस्व विभागमार्फत् यसको दायरा वृद्धि गर्ने दुईवटा उपाय भएको मन्त्री डा. महतले बताए । अर्थतन्त्र चलायमान बनाउन सकियो भने स्वतः कर लिने आधार वृद्धि हुने भन्दै उनले अहिलेकै अवस्थामा पनि जुन वर्ग समूह करको दायरामा आउनुपर्ने हो, उनीहरुलाई करको दायरामा ल्याएर कर संकलन बढाउनु पर्ने बताए ।