भ्रष्टाचारविरुद्ध सतिसालझैँ उभिन्छु : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, २० असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू भ्रष्टाचार विरोधी लडाइँमा सतिसालझैँ उभिने बताएका छन् ।
बुधबार कीर्तिपुरस्थित अखिल क्रान्तिकारी स्ववियु काउन्सिलको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सरकारको सङ्कल्पबाट भ्रष्टहरू तर्सिएको बताएका हुन् ।
उनले भने, ‘सरकारको नेतृत्व लिएदेखि नै देश र जनताको पक्षमा दृढतापूर्वक काम गर्ने अठोट गरिरहेको छु । भ्रष्टहरूमाथि कारबाही सुरु भएको छ । ललिता निवासको फाइल फेरि खोलिएको छ । यो प्रक्रिया रोकिन्न, हेर्दै जानुहोला–थप फाइलहरू खोलिन्छ र कारबाही गरिन्छ ।’
‘२०६४ को निर्वाचनमा हामीले राम्रो परिणाम ल्यायौँ। तर, पार्टी एकताबद्ध हुन सकेन, टुटफुट र विभाजनले आन्दोलन कमजोर भयो’, उनले अगाडि भने, फेरि एउटा नयाँ परिस्थिति बनेको छ । माओवादी शक्तिहरूबिच एकताको राम्रो आधार बन्दै छ । पार्टी एकता संयोजन समिति बनाइन्छ र बृहत् एकतासहित अगाडि बढिन्छ ।’
प्रधानमन्त्री दाहालले घेरा हाल्ने, भ्रम छर्ने प्रतिक्रियावादी षड्यन्त्र अहिले पनि जारी रहेको बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


