काठमाडौं, १९ असार । राष्ट्रपति रामचन्द्र पौडेलको उपचार खर्च निकासाका लागि परराष्ट्र मन्त्रालयले अर्थ मन्त्रालयलाई पत्राचार गरेको छ ।

राष्ट्रपति पौडेललाई गत वैशाख ६ देखी १७ गतेसम्म श्री एयरलाईन्सको चार्टर एयर एम्बुलेन्सको उडानमार्फत भारतको नयाँ दिल्लीमा उपचारका लागि लगिएको थियो ।

राष्ट्रपति पौडेलको दिल्लीस्थित अल इन्डिया इन्स्टिच्यूट अफ मेडिकल साइन्स (एम्स) अस्पतालमा उपचार गरिएको थियो ।

अर्थ मन्त्रालयले असार ११ गते स्वास्थ्य उपचार लगायतको खर्चका लागि प्रचलित कानुन तथा स्वीकृत मापदण्ड बमोजिम खर्च गर्ने गरी ५५ लाख ४ हजार ६५४ रुपैयाँको सहमति दिएको थियो ।

सोही सहमति अनुसार परराष्ट्रले राष्ट्रपतिको उपचारका लागि भएको यथार्थ खर्चको विल भरपाई बमोजिमको रकम भुक्तानी दिने प्रयोजनका लागि निकासा गरिदिन अर्थलाई पत्राचार गरेको छ ।

परराष्ट्रका अनुसार राष्ट्रपति पौडेलको उपचारका लागि भएको कूल खर्चमध्येको ५५ लाख २ हजार २७९ रुपैयाँको विल भरपाई अर्थमा पेस गरिएको थियो ।