बारको विरोधबाट अदालती काम नरोकिने

काठमाडौं, १९ असार । नेपाल बार एसोसिएसनले अदालतभित्रै कर्मचारी कुटिएको घटनामा कानुन व्यवसायीलाई पक्राउ गरिएपछि भएको विरोधमा अदालतको कामलाई असर नपर्ने गरी विरोध गर्ने जनाएको छ ।
बारको आन्दोलन चलिरहे पनि सर्वोच्च अदालतदेखि देशभरका अदालतमा कामकारबाही रोकिएको छैन । बारले सोमबार भने बन्दीप्रत्यक्षीकरण बाहेकका मुद्दामा बहस पैरवी गरेको थिएन ।
बारका महासचिव अञ्जिता खनालले उक्त विवादमा आन्दोलन जारी रहको भए पनि अदालतको कामलाई असर नपर्ने गरी आफ्ना मागहरू यथावत् रहेको बताइन् ।
जिल्ला अदालत ललितपुरकी कर्मचारी प्रेमिका तामाङलाई हातपात गरेको आरोपमा कानुन व्यवसायी अमिर लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ । सोही विषयमा बारले विरोध गर्दै आएको हो ।
बारले थुनामा रहेका अधिवक्ता लामिछानेलाई २४ घण्टाभित्र रिहा गर्नुपर्ने, सिसी टिभी फुटेज सार्वजनिक गर्नुपर्ने र लामिछानेले दिएको जाहेरी दर्ता गर्नुपर्ने माग गरेको छ ।
असार १३ गते जिल्ला अदालत ललितपुरमा नासु तामाङलाई काम गरिरहेको अवस्थामा लामिछानेले आक्रमण गरेको भन्दै प्रहरीले पक्राउ गरेको थियो ।
लामिछानेविरुद्ध नासु तामाङले घटना भएकै दिन जिल्ला अदालत ललितपुरमा अदालतको अवहेलनामा कारबाही गर्न माग गर्दै निवेदन दिएपछि अधिवक्ता लामिछानेलाई पक्राउ गरिएको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


