गोदावरी हस्पिटलमा पत्थरीको उपचार गराउन आएका बिरामीको मृत्यु

जनकपुरधाम, १८ असार । जनकपुरधामस्थित गोदावरी मोडर्न हस्पिटलमा पित्तथैलीमा रहेको पत्थरीको उपचार गराउन आएका एक बिरामीको अस्पतालको लापरबाहीका कारण मृत्यु भएको आरोप लगाइएको छ ।
पित्तथैलीमा रहेको पत्थरीको उपचारका निम्ति आइतबार अस्पताल पुगेका धनुषाको धनौजी गाउँपालिका वडा नम्बर–२ बस्ने ३० वर्षीय पप्पु राउतको मृत्यु भएको हो ।
पत्थरीको उपचारको निम्ति पप्पुलाई आइतबार दिउँसो १२ बजे डाक्टर अशोक अधिकारीले सञ्चालन गरेको गोदावरी अस्पतालमा लगिएको थियो । तर, चिकित्सक कृष्णकुमार यादवको लापरबाहीका कारण सोमबार साँझ उनको मृत्यु भएपछि अवस्था तनावग्रस्त बनेको थियो ।
‘एक्कासी पेटमा दर्द भएपछि उनलाई उपचारका लागि सो अस्पतालमा ल्याइएको थियो । अस्पतालले उनको अवस्था नर्मल रहेको भन्दै उपचार सुरु गर्यो । तर, उनको दर्द झन बढ्न थाल्यो, मृतकका पिता गंगा राउतले भने, ‘मेरो छोरा पेट दर्दका कारण छटपटाइरहेको थियो । तर, अस्पतालले उपचारमा कुनै चासो देखाएन । एकपटक राउण्डमा आएको चिकित्सक फेरि फर्केर आएनन् । हामीले पटक पटक अस्पताल प्रशासनसँग बिरामीको उपचारमा ध्यान दिन आग्रह गरिरहयौं, कसैले हाम्रो कुरा सुनेनन् । अन्तोगत्वा आज मेरो छोराले ज्यान गुमाए ।’
बिरामीपक्षले बाहिरबाट एकजना आफ्नो परिचित स्टाफनर्सलाई बोलाएर पप्पुको अवस्थाबारे बुझ्न लगाउँदा उनको मृत्यु भइसकेको कुरा आफूहरुले जानकारी पाएको उनले बताए । उनले बिल रकम बढाउन अनावश्यक औषधि र करिब ५० वटासम्म सुई लगाउँदा आफ्नो छोराको मृत्यु भएको दाबी गरेका छन् ।
यता, अस्पतालका इन्चार्ज सुशील कुमार साहले सर्जन डाक्टर रुपेश वर्मा र फिजिसियन कृष्णा यादवले उनको उपचारमा कुनै कसर बाँकी नराखेको दाबी गरेका छन् ।
सोमबार दिउँसो २ बजे उनको अपरेशनसमेत गरेर औषधि दिइएको र हेरचाहका लागि कर्मचारी पनि खटाइएको अवस्थामा बिरामीको स्वास्थ्य अवस्था झन झन बिग्रिन लागेको उनले बताए । साँझ आइसियूमा लगेर राखेपछि उनको केहीबेरमै मृत्यु भएको उनले जानकारी दिए ।
बिरामीलाई अस्पततालले आफूले भ्याएसम्म उपचारमा कुनै लापरबाही नगरेको उनको दाबी छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


