हेटौंडा, १८ असार । बागमती प्रदेशसभामा विनियोजित बजेटमाथि छलफल प्रारम्भ भएको छ । सोमबार अपराह्न बसेको बैठकमा सरकारद्वारा प्रस्तुत बजेटमाथिको छलफल सुरु भएको हो ।

प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिं लामाले बजेटमाथिको छलफलको क्रममा प्रदेशसभाका सदस्यहरूले उठाएको जिज्ञासाप्रति उत्तर दिँदै सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ल्याएको बजेट सन्तुलित र समानुपातिक एवं व्यावहारिक भएको दाबी गरे । बजेट सफलापूर्वक कार्यान्वयन हुने विश्वास व्यक्त गर्दै प्रतिपक्षले उठाएका मागलाई सम्बोधन गर्ने बताए ।

मन्त्री लामाले बजेट प्रस्तुतका क्रममा देखिएका केही कमीकमजोरी र अव्यावहारिक पक्षलाई आत्मसमीक्षा गरेर आगाडि बढ्ने जानकारी गराए । उनले प्रतिपक्ष दलहरूले उठाएका मागहरूलाई सरकारले गम्भीरतापूर्वक लिएको र केही समयभित्रै ती मागलाई बजेटको किताबमा समावेश गरिने प्रतिबद्धता व्यक्त गरे ।

मन्त्री लामाले बजेटले कृषि उत्पादन, गुणस्तरीय शिक्षाको विकास र स्वास्थ्य उपचार सेवालाई गुणात्मकरूपमा प्रदेशको हरेक अस्पताललाई स्तरोन्नति गरी अगाडि बढाउन प्रयास गर्ने उल्लेख गरे । उनले प्रदेश सरकार दलगत स्वार्थभन्दा माथि उठेर प्रदेशको राष्ट्रिय गौरवको आयोजना एवं विपन्न जनतालाई आर्थिक आत्मनिर्भर तुल्याउने र भौतिक पूर्वाधारको विकासलाई सहजीकरण गरी समान व्यवहारका साथ योजनाको बाँडफाँट गरी कार्यान्वयन गर्दै लैजाने सरकारको लक्ष्य रहेको बताए ।

मन्त्री लामाले प्रमुख प्रतिपक्ष दल नेकपा एमाले, प्रतिपक्ष दल राप्रपा र नेमकिपासँग मुख्यमन्त्री र आफू बसेर बजेटको विभेद् हटाएर थप योजनाहरू समावेश गरी क्रमिकरूपमा प्रदेशमा कार्यान्वयन गर्दै लैजाने सहमतिका साथ संसद् अवरोध टुङ्गिएको बताए ।

एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले प्रदेश सरकारद्वारा ल्याएको विनियोजित बजेट अव्यावहारिक र राजनीतिक स्वार्थमा आधारित भएकाले विरोध गरेको स्पष्ट पारे ।

उनले प्रतिपक्षहरूले उठाएका योजनालाई क्रमशः सरकारले बजेट पुस्तिकामा समावेश गरी कार्यान्वयन गर्दै लैजाने विश्वास गरी आजदेखि प्रदेश सरकार र प्रतिपक्ष दलसँग सहमति भएको उल्लेख गरे ।