सप्तरी, १८ असार । सप्तरीको डाक्नेश्वरी नगरपालिकाकी उपप्रमुख मिराकुमारी यादव र उनका पति महेन्द्र कुमार यादवविरुद्ध मुद्दा दर्ता भएको छ ।

नागरिकता सम्बन्धी कसूरमा उच्च अदालत जनकपुरको राजविराज इजलासमा परमादेशपछि उपप्रमुख मिरा र उनका पति महेन्द्रविरुद्ध जिल्ला अदालत सप्तरीमा मुद्दा दर्ता गरिएको हो ।

डाक्नेश्वरी नगरपालिकाका कृष्णकुमार यादवले उपप्रमुख मिरा दम्पति भारतीय नागरिक रहेको र किर्ते कागजात पेश गरी नेपाली नागरिकता लिएको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालयमा आवश्यक कारबाहीका लागि उजुरी दिएको सप्तरीका प्रहरी प्रमुख एसपी नरेन्द्रकुमार कार्कीले जानकारी दिए ।

प्रहरीले मुद्दा नचलाएपछि उनी मुद्दा दर्ताको माग गर्दै उच्च अदालत जनकपुरको राजविराज इजलास समक्ष उच्च अदालतबाट परमादेशका लागि गएका थिए ।

उच्च अदालतको राजविराज इजलासले मुद्दा दर्ता गर्न परमादेशको आदेश जारी गरेपछि उनीहरुविरुद्ध नागरिकता कसूरमा मुद्दा दर्ता गरिएको छ । मुद्दा दर्ता भएपश्चात् केही प्रमाण जुटाइसकेपछि पक्राउ पुर्जीको प्रक्रिया अघि बढाइने प्रहरीको भनाइ छ ।

उपप्रमुख मिरा र उनका पति महेन्द्र भारतको बिहार राज्य अन्तर्गत सुपौल जिल्लाको निर्मली थाना अन्तर्गत मझारी ग्रामका बासिन्दा रहेको र किर्ते कागजात पेश गरी नेपाली नागरिकता लिएको भन्दै जिल्ला प्रशासन कार्यालयमा यादवले कारबाहीको माग गरेका थिए ।

उपप्रमुख मिरा दम्पतिमाथि सप्तरीको साविक औरही गाविस वडा नम्बर–३ (हाल डाक्नेश्वरी नगरपालिका ६) बाट झुठो विवरणको आधारमा नागरिकता प्रमाणपत्र लिएको आरोप छ ।