काठमाडौं, १७ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कला, साहित्य र खेलकुद क्षेत्रलाई विशेष प्राथमिकतामा राखेको बताएका छन् ।

कला, साहित्य र खेलकुद क्षेत्रमार्फत आर्थिक सामािजक रुपान्तरणलाई दिगो बनाउने उद्देश्यका साथ पहल थालिएको उनले उल्लेख गरेका हुन् ।

‘प्रकाश दाहाल स्मृति तेस्रो राष्ट्रिय खुल्ला महिला तथा पुरुष बक्सिङ प्रतियोगिताको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले आफू पहिलोपटक प्रधानमन्त्री हुँदा समेत यस क्षेत्रलाई प्राथमिकता राखेको र यसपटक पनि उत्तिकै महत्व दिएको उनले बताए । खेल क्षेत्रलाई प्रभावकारी बनाउन र अगाडि बढाउन सरकारको तर्फबाट शतप्रतिशत प्रयास रहने प्रधानमन्त्री दाहालको भनाइ छ ।

पछिल्ला दिनमा क्रिकेट खेलले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा प्राप्त गरेको सफलताको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले बक्सिङलाई पनि विश्वव्यापी रुपमा अगाडि बढाउन जरुरी रहेको बताए ।

युवाको सर्वांगीण विकासलाई लक्षित गर्दै आफूले कला–साहित्य र खेलकूद क्षेत्रलाई सबैभन्दा बढी प्राथमिकता दिएको उनले स्पष्ट पारे । खेल क्षेत्रको विकास राष्ट्रको समृद्धि र युवाको भविष्यसँग जोडिएको उनको भनाइ छ ।

प्रतियोगिताबाट खेल क्षेत्रको विकासमा थप मद्दत पुग्ने प्रधानमन्त्री दाहालले विश्वास व्यक्त गरे ।