जनकपुरधाम, १७ असार । नेकपा माओवादी केन्द्रले धनुषाको शहिदनगर नगरपालिकाका एकजना निलम्बित वडाध्यक्षलाई पार्टीबाट निष्काशन गरेको छ ।

शहिदनगर नगरपालिका वडा नम्बर–८ का निलम्बित वडाध्यक्ष तनुकलाल कुसियैत यादवलाई पार्टीबाट आउट गरिएको हो ।

नेपाल कम्यूनिष्ट पार्टी माओवादी (केन्द्रले)मधेश प्रदेश शहिदनगर नगरपालिका नगर कमिटिका अध्यक्ष समेत रहेका कुसियैतले पार्टीको विधान विपरित कार्यहरु गरेकाले साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासन गरेको छ ।

यादवसँग सम्बन्धित विभिन्न प्रमाणहरु भेटिएको र पार्टीको मर्यादा विपरित, आचरण हनन हुने प्रकारका कार्यहरु तथा पार्टीको सिद्धान्त र विचार विपरित गतिविधि गरेकोले उनलाई हटाइएको विज्ञप्तीमा उल्लेख छ ।

नगर कार्य समितिको असार १५ गतेको निर्णय अनुसार उनलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्काशन गरिएको हो ।

अहिले उनको वडाध्यक्षको पद पनि गुमेको छ । २०७४ सालमा गरेको कामले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको आधारमा उनी निलम्बित भएका छन् ।