काठमाडौं, १६ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारविरुद्धको अनुसन्धान कार्यले थप तीव्रता पाउने बताएका छन् ।

शनिबार पोखराका सञ्चारकर्मीसँग अन्तरक्रिया गर्दै उनले भ्रष्टाचार तथा अनियमितताविरुद्ध सरकार दृढरूपमा खडा भएको र कुनै पनि सम्झौता नहुने बताएका हुन् ।

भ्रष्टाचार देशको विकराल समस्या भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरणलगायतमा सरकार दृढताका साथ अगाडि बढेको र यसलाई थप तीव्र पारिने बताए ।

उनले भने, ‘पारवहन सन्धि पुनरावलोकन पनि महत्त्वपूर्ण निर्णय हो । विद्युत् व्यापार सम्झौता पनि सामान्य कुरा होइन । १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यात गर्ने समझदारी सामान्य होइन । यसले विद्युत् व्यापार बढ्छ, लगानीको ढोका खुल्छ । यो आउने पिँढीले सम्झिरहने काम हो ।’

प्रधानमन्त्री दाहालले राष्ट्र र जनताप्रति इमानदार भएर काम गरिरहेको बताए । उनले छिट्टै आफ्नो चीन भ्रमण हुने र त्यसको तयारी भइरहेको बताए । वर्तमान गठबन्धनको सरकार पाँच वर्ष चल्ने र कसैले यसलाई कमजोर बनाउन नसक्ने स्पष्ट पार्दै उनले यसमा दलहरू समझदारीका साथ अगाडि बढ्ने बताए ।