काठमाडौं, १६ असार । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेस बदल्ने अभियानमा आफू लागि परेको बताएका छन् ।

एउटै व्यक्ति ५÷६ पटक प्रधानमन्त्री बन्ने कुराले पार्टी नचल्ने भएकाले कांग्रेस, एमाले र माओवादी जस्ता पुराना पार्टीहरू आज एकसाथ संकटमा पर्न गएको उल्लेख गर्दै उनले आफूले व्यक्तिको नभई पार्टी नै बदल्ने कुरा गरेको बताएका हुन् ।

नेपाली कांग्रेस दोलखा–काठमाडौं सम्पर्क समितिले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले डेमोक्रेसीमा एउटै व्यक्ति पटकपटक प्रधानमन्त्री हुने कुनै पनि देश नभएको दाबीसमेत गरे ।

उनले कांग्रेस बदल्नका लागि आफू महामन्त्री पद त्याग गर्न पनि तयार रहेको बताए । दाग लागेको कांग्रेसको महामन्त्री बन्नुभन्दा सफा कांग्रेसको कार्यकर्ता भएर बस्न आफूलाई मन भएको उनले बताए ।

महामन्त्री थापाले काँग्रेस बदलिए मात्रै देश बदलिने भएकाले काँग्रेस बदल्ने अभियानमा जुट्न पनि पार्टीका नेता, कार्यकर्तालाई आग्रह गर्नु गरे । उनले कांग्रेस सक्कियो भनेर नआत्तिन पनि सिंगो पार्टी पंक्तिलाई आह्वान गर्दै आफू बदलिएर देश बदल्ने अभियानमा कांग्रेस जुट्नुपर्ने बताए ।

उनले गठबन्धन सरकार परिवर्तन हुन सक्ने भए पनि कांग्रेसले सर्तसहित सरकारमा सहभागी हुने गरी नीतिगत निर्णय गरेर अघि बढ्नुपर्ने बताए ।