काठमाडौं, १६ असार । परराष्ट्रमन्त्री एनपी साउदले सरकारले तरल रहेको परराष्ट्र नीतिलाई स्थिरता दिने प्रयत्न गरिरहेको बताएका छन् ।

नेपाल प्रेस युनियन जिल्ला शाखाले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले अन्तर्राष्ट्रिय सम्बन्धलाई स्थिरता दिने प्रयास भइरहेको बताएका हुन् ।

उनले भने, ‘अलिकति तरल रहेको परराष्ट्र नीति तथा अन्तर्राष्ट्रिय सम्बन्धलाई हामीले अहिले स्थिरता दिने प्रयत्न गरिरहेका छौँ, हाम्रो परराष्ट्र नीतिका सम्बन्धमा हामीले संयुक्त राष्ट्रसंघको बडापत्रमा उल्लेखित मूल्य र मान्यतालाई सम्मान गर्छौं ।’

परराष्ट्र नीति परस्पर सन्धि र विगतको सम्झौतामा टेकेर सम्बन्ध सुधार हुने मन्त्री साउदले जनाए ।

उनले संसारमा हुने घटनालाई नेपालले स्वतन्त्र राष्ट्रका रूपमा निष्पक्ष किसिमले हेरिरहेको बताए । कालापानी, लिपुलेक, लिम्पियाधुरालगायतका भारतसँग सीमा जोडिएका क्षेत्रका बारेमा पनि सरकार गम्भीर रहेको उनको भनाइ थियो ।

प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा पनि यी विषयमा कुराकानी भएको र भारत पनि सीमा समस्या समाधानमा सकारात्मक रहेको मन्त्री साउदले बताए । कूटनीतिक तवरबाट समस्या सुल्झाउनेतिर सरकार लागि परेको उनले जनाए ।