जनकपुरधाम, १६ असार । सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले कार्यालय परिसरभित्र बिचौलियालाई प्रवेश निषेध गरेका छन् ।

प्रजिअ यादवले कार्यालय परिसरभित्र विचौलियालाई प्रवेश गर्न पूर्णरुपमा निषेध गरिएको जानकारी दिएका हुन् ।

उनले कार्यालय परिसरमा प्रवेश गरी कसैले अनुचित लाभ उठाउने दुष्प्रयास गरेको पाइएमा शान्ति सुरक्षा अपराध विरुद्धको मुद्दा चलाइने चेतावनीसमेत दिएका छन् ।

नेपाल नागरिकता ऐन, २०६३ लाई संसोधन गर्न बनेको नेपाल नागरिकता (पहिलो संसोधन) ऐन, २०७९ बमोजिम जन्मको आधारमा नागरिकता लिएका सन्ततीका लागि नयाँ नागरिकता प्रदान गर्ने शिलशिलमा कार्यालयमा सेवाग्राहीको अत्याधिक भिडको फाइदा उठाई सेवाग्राहीहरुबाट अनुचित रकम लिने गरेको गुनासोप्रति जिल्ला प्रशासन कार्यालय सर्लाहीको गम्भिर ध्यानाकर्षण भएको सूचनामा उल्लेख छ ।

उनले यस प्रकारको अनुचित लाभ लिने हर्कत गरेको भेटिएमा सिंधै प्रमुख जिल्ला अधिकारी वासहायक प्रमुख जिल्ला अधिकारीको मोबाइलमा सम्पर्क गरी जानकारी गराउनु समेत अनुरोध गरेका छन् ।