बारा, १६ असार । बारा प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद गरेको छ ।

जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–७ स्थित जितपुर–वीरगन्ज सडक खण्डमा पार्किङ गरेर राखेको भारतीय नम्बरको ट्रकबाट २६२ किलो गाँजा बरामद गरिएको हो ।

इलाका प्रहरी कार्यालय सिमरा र प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरी टोलीले ट्रकमा खानतलासी गर्दा सो परिमाणको गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायव उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए ।

असार १४ मा मकवानपुरबाट वीरगन्जतर्फ जाँदै गरेको ट्रक चालकले जितपुर–वीरगन्ज सडकमा पार्किङ गरेर छाडेका थिए ।

बिआर–२५ जिए १४५८ नम्बरको ट्रकको छतभन्दा तलको भागमा गाँजा कारोबारीले फल्ट बटन बनाएर गाँजा लोड गरेका थिए ।

वीरगन्ज भन्सारबाट खाली नेपालतर्फ आएको सो ट्रक गाँजा लिनकै लागी मकवानपुर पुगेको प्रहरीको अनुसन्धानबाट पत्ता लागेको बताइएको छ ।

ट्रक चालक र धनीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।