जनकपुरधाम, १६ असार । जनकपुर जेसिजमा नयाँ सदस्यता सम्बन्धी विषयमा विवाद उत्पन्न भएपछि तालाबन्दी गरिएको छ । अध्यक्ष अभिषेक चौधरीले विधानविपरित नयाँ सदस्यता थपेपछि जेसिजको सचिवालयमा तालाबन्दी गरिएको हो ।

अध्यक्ष चौधरीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै जेसिजका कार्यकारिणी उपाध्यक्ष राहुल निधि, सदस्यहरू राजेश ठाकुर, राजेश मण्डल र लक्ष्मण महतोले तालाबन्दी गरेका छन् ।

अध्यक्ष चौधरीले विधानविपरित नयाँ सदस्यता थपेको कार्यसमितिका एक पदाधिकारीले आरोप लगाएका छन् । सन् २०२० को साधारणसभाबाट प्रत्येक वर्ष बढिमा ३० जना नयाँ सदस्य थप्ने व्यवस्था गरेपनि अध्यक्ष चौधरीले आफूखुशी १४७ जना सदस्य थपेको ती पदाधिकारीको भनाइ छ ।

‘सन् २०२० को साधारणसभाले हरेक वर्ष बढीमा ३० जना नयाँ सदस्य थप्न सकिने व्यवस्था गरेको छ । तर, अध्यक्ष चौधरीले विधानको व्यवस्थासमेत मिचेर १४७ जना नयाँ सदस्य बनाएका छन्,’ उनले भने, ‘बोर्ड मिटिङमा समेत राम्ररी छलफल भएको छैन । जबरजस्ती निर्णय लाद्ने काम गरिएको छ ।’

विधानविपरित गएर थपिएका नयाँ सदस्यहरूलाई स्वीकार्य गर्न नसकिने उनले बताए । भोटको राजनीति गर्न अध्यक्षले विधान मिचेर नयाँ सदस्यता वितरण गर्न लागेको पदाधिकारीहरूले आरोप लगाएका छन् ।

सन् २०२० मा विधान संशोधन भएर हरेक वर्ष बढीमा ३० जना नयाँ सदस्य थप्ने व्यवस्था गरिएको भएपनि अध्यक्षले यसलाई मिचेको उनको आरोप छ ।

जनकपुर जेसिजमा सन् २०२१ मा संशोधित विधानबमोजिम नै नयाँ सदस्यता वितरण भएको थियो । सन् २०२२ मा विवादका कारण नयाँ सदस्यता नबाँडिएको र अहिले एकैपटक १४७ जनालाई नयाँ सदस्यता दिन लागिएको उनको भनाइ छ ।