काठमाडौं, १५ असार । बालुवाटार जग्गा प्रकरणमा पक्राउ परेका तीनजना अस्पताल भर्ना भएका छन् ।

भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह र मालपोत कार्यालय डिल्लीबजारका पूर्वप्रमुख धर्मप्रसाद गौतमलाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको हो ।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का एसएसपी दिनेश आर्चायका अनुसार एकजनाको स्वास्थ्य अवस्थामा सुधार आएपनि दुईजनालाई मेडिकल निगरानी आवश्यक देखिएको छ ।

उनीहरू दुईजनामध्ये एकजनाको प्रोस्टेटको अपरेशन गरिएको छ भने अर्कोलाई बेला–बेलामा अक्सिजन दिइरहनुपर्ने एसएसपी आर्चायले जानकारी दिए ।

तीनजना अस्पताल भर्ना भएपछि अहिले गोपाल कार्की मात्र हिरासतमा छन् ।

ब्यूरोले १२ असारमा ललिता निवास प्रकरणमा ७ जनालाई पक्राउ गरेको थियो । अदालतबाट स्टे–अर्डर लिएका कलाधर देउजा, सुरेन्द्रमान कपाली र भूपेन्द्रमणि केसी भने पक्राउ परेकै दिन छुटेका थिए ।