काठमाडौं, १५ असार । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको नतिजा साउन अन्तिम साताभित्र सार्वजनिक गरिने जनाएको छ । गत वैशाख २६ गतेदेखि लिइएको परीक्षाको नतिजा साउन मसान्तभित्र सार्वजनिक गरिने भएको हो ।

अहिले सातै प्रदेशका परीक्षा केन्द्रहरूमार्फत उत्तरपुस्तिका परीक्षणको काम भइरहेको बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले जानकारी दिएका हुन् ।

शर्माले भने, ‘उत्तरपुस्तिका परीक्षणको काम भइरहेको छ । साउन अन्तिम साताभित्रमा नतिजा सार्वजनिक गर्ने हाम्रो कार्यतालिका छ । सोही आधारमा हुन्छ ।’

माध्यमिक विद्यालय शिक्षक युनियन नेपाल (हिस्टुन) को आन्दोलनका कारण उत्तरपुस्तिका परीक्षणको काम प्रभावित बनेको छ आन्दोलनरत शिक्षकहरू परीक्षणका लागि नगएपछि उत्तरपुस्तिका परीक्षणको काम आंशिक रूपमा प्रभावित भइरहेको अध्यक्ष शर्माले बताए ।

हिस्टुनले असार १३ गतेदेखि १९ गतेसम्म एक साताका लागि परीक्षण नगर्ने बताएको हो । उनीहरूले अवरोध सिर्जना गरेपनि नतिजा प्रकाशनको काम भने समयमै हुने उनको भनाई छ । नतिजा कुनै आधारमा प्रकाशन गर्ने भन्ने यकिन भइसकेको छैन् ।