काठमाडौं, १५ असार । गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालतले नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई दोषी ठहर गरेको छ ।

विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, सदस्यहरू शालिग्राम कोइराला र डा. खुसीप्रसाद थारुको संयुक्त इजलासले शुक्रबार खड्कालाई १ वर्ष ३ महिना कैद सजाय सुनाएको छ ।

अदालतले उनलाई १८ करोड रुपैयाँ विगो तथा जरिवाना भराउने आदेशसमेत गरेको हो ।

२ चैत २०६९ मा आयल निगमका कार्यकारी निर्देशक भएका खड्काविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २३ पुस २०७८ मा १८ करोड ६६ लाख ५ हजार ६२९ रुपैयाँ गैरकानुनी रुपमा आर्जन गरेको अभियोग लगाएको थियो ।

विशेष अदालतका प्रवक्ता दिपेन्द्रनाथ योगीका अनुसार, खड्कालाई दोषी ठहर गर्दै १ वर्ष ३ महिना कैद सजाय सुनाइएको छ । उनलाई विगो बमोजिम ९ करोड १९ लाख ६ हजार ६३४ रुपैंया ६४ पैसा र त्यति नै जरिवाना हुने आदेश भएको छ ।

खड्काले श्रीमती शर्मिला खड्का र अर्का अनिता लामा सोदेम्बाको नाममा सम्पत्ति लुकाएको दाबी गरेको थियो । उनीहरुको नाममा ३ कित्ता घरजग्गा रहेकोमा विगोको हदसम्म जफत गर्ने आदेश भएको विशेष अदालतका प्रवक्ता योगीले बताए ।