मधेस प्रदेशमा ८ प्रतिशत धान रोपाइँ, मल अभावले किसान चिन्तित

जनकपुरधाम, १५ असार । नेपालमा प्रत्येक वर्ष असार १५ गते राष्ट्रिय धान दिवस मनाइन्छ । यसवर्ष पनि देशैभरी ‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’ भन्ने नाराका साथ २०औँ धान दिवस मनाइँदैछ ।
दिवसको अवसरमा मधेस प्रदेश सरकारका मन्त्रीदेखि विभिन्न पालिकाका प्रमुखहरु खेतखेतमै पुगि धान रोपेर धान रोपाइँको शुभारम्भ गरेका छन् ।
देशको कुल ग्राहस्थ उत्पादनमा धानको उल्लेखनीय भूमिका रहेको छ । सबैभन्दा बढी धान उत्पादन मधेस प्रदेशमा हुुँदै आएको छ ।
नेपालमा हुुने कुल धान उत्पादनको २० देखि २५ प्रतिशत उत्पादन मात्रै यस प्रदेशमा हुँदै आएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको तथ्यांक छ । यस प्रदेशमा अहिलेसम्म चैते र बर्षे दुबै मिलाएर १४ लाख ७३ हजार ६ सय ३ मेट्रिक टन धान उत्पादन भएको छ ।
मधेस प्रदेशमा अहिलेसम्म करिब ८ प्रतिशत धान रोपाइँ भएको छ । कृषि विकास निर्देशनालयका अनुसार यस प्रदेशमा हालसम्म करिब ८ प्रतिशत मात्र धान रोपाइँ भएको हो ।
प्रदेशमा ४ लाख १ हजार ९१६ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ । तर, समयमा पानी नपर्दा अहिले खेतहरु सुकेकै अवस्थामा छन् ।
देशभर राष्ट्रिय धान दिवस मनाइरहँदा यस प्रदेशमा अहिलेसम्म ३.६१ प्रतिशत मेट्रिक टन धान उत्पादन भएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ । प्रदेशमा ४ लाख १२ हजार १९१ हेक्टर खेतीयोग्य जग्गा रहेको छ ।
मन्त्रालयका अनुसार प्रदेशमा बारा जिल्लामा सबैभन्दा बढि धान उत्पादन भएको छ । कुल ५८ हजार २११ हेक्टर खेतीयोग्य जग्गामध्ये सो जिल्लामा २ लाख ३७ हजार ६९० मेट्रिक टन धान उत्पादन भएको हो । त्यहाँ प्रतिहेक्टर ४.०८ प्रतिशत मेट्रिक टनको हिसाबले धान उत्पादन भएको हो ।
यस्तै पर्सा जिल्लामा कुल ४७ हजार ५० हेक्टर खेतीयोग्य जग्गामा कुल २ लाख २८ हजार ५६० मेट्रिक टन धान उत्पादन भएको छ ।पर्सामा प्रतिहेक्टर ४.८६ प्रतिशत मेट्रिक टनको हिसाबले धान उत्पादन भएको मन्त्रालयले जनाएको छ ।
सप्तरीमा ६३ हजार हेक्टर क्षेत्रफल खेतीयोग्य जग्गामा धान रोपाइँ गरिएकोमा १ लाख ८९ हजार ३ सय मेट्रिक टन धान उत्पादन भएको बताइएको छ । त्यस जिल्लामा प्रतिहेक्टर ३ प्रतिशत मेट्रिक टनको हिसाबले धान उत्पादन भएको छ ।
सर्लाहीको ४६ हजार ३५० हेक्टर खेतीयोग्य जग्गामा प्रतिहेक्टर ३.९९ प्रतिशत मेट्रिक टनको हिसाबले कुल १ लाख ८४ हजार ८७६ मेट्रिक टन धान उत्पादन भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
धनुषामा ५९ हजार हेक्टर खेतीयोग्य जग्गामा धान रोपाइँ गरिएकोमा प्रतिहेक्टर ३.०१ प्रतिशतको हिसाबले कुल १ लाख ७७ हजार ३३० मेट्रिक टन धान उत्पादन भएको मन्त्रालयले जनाएको छ ।
त्यस्तै, महोत्तरीमा ४५ हजार ८३० हेक्टर क्षेत्रफलमा धान रोपाइँ गरिएकोमा प्रतिहेक्टर ३.५९ प्रतिशतको हिसाबले कुल १ लाख ६४ हजार ४९९ मेट्रिक टन उत्पादन भएको हो ।
सिरहामा ५४ हजार हेक्टर खेतीयोग्य जग्गामा धान रोपाइँ गरिएकोमा प्रतिहेक्टर ३.०१ प्रतिशतको हिसाबले १ लाख ६२ हजार ४२३ मेट्रिक टन उत्पादन भएको बताइएको छ । यस प्रदेशमा यसवर्ष सबैभन्दा कम रौतहटमा धान उत्पादन भएको मन्त्रालयले जनाएको छ । त्यहाँ ३८ हजार ७५० हेक्टर क्षेत्रफलमा धान रोपाइँ गरिएकोमा प्रतिहेक्टर ३.३३ प्रतिशतको हिसाबले १ लाख २८ हजार ९२५ मेट्रिक टन धान उत्पादन भएको छ ।
यता, मल खाद्यको आपूर्तीको ७० प्रतिशत जिम्मा कृषि सामग्री कम्पनीको र ३० प्रतिशत साल्ट ट्रेडिङ्गको रहेपनि किसानहरु सहज रुपमा कुनै वर्ष मल नपाउने गरेको उनीहरुको गुनासो छ । धान उत्पादन उल्लेखनीय रुपमा हुनेमा समेत किसानहरु आशावादी छन् ।
किसानहरु मलको अभावमा मर्कामा परेका छन् । मधेस प्रदेशमा सिंचाईको अभाव रहेकोे समयमा जसोतसो धान रोपाइँ गर्दै आएका किसानहरुलाई खेतीपातीका लागि आवश्यक मलको अभावले पनि चिन्तित बनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


