चितवन, १४ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले इतिहासमा पहिलोपटक मतदानबाट बजेट पास भएको बताएका छन् ।

बिहीबार चितवनमा पत्रकारहरूसँग कुरा गर्दै उनले सरकारले ल्याएको बजेटले जनताको चाहनाअनुसार काम गर्न नसक्ने टिप्पणी गरेका हुन् ।

सरकारले ल्याएको बजेट पास भए पनि यसले जनचाहना नसमेटेको टिप्पणी गर्दै उनले भने, ‘अहिले मुलुकको जुन अवस्था छ । अवस्था सुहाउँदो बजेट बनोस् भन्ने हाम्रो चाहना थियो । तर, त्यो हुन सकेन ।’

बजेट संसद्बाट पास हुनुलाई स्वाभाविक रूपमा लिएको बताउँदै उनले अहिलेको बजेट नियमित बजेट जस्तो भएको बताए । उनले थपे, ‘अहिलेको बजेटबाट व्यापारी, वैदेशिक दातृ निकायलगायतका संस्था खुसी हुन सकेका छैनन् ।’

फरक प्रसंगमा उनले आफूहरु राजनीतिक अस्थिरताका पक्षमा नरहेको बताए । रास्वपा मुलुकमा अस्थिरता नहोस् भन्ने पक्षमा रहेको उनको भनाइ छ । ‘हामी अस्थिरताको खेलमा छैनौँ,’ उनले भने, ‘मुलुकमा अस्थिरता नहोस् भन्ने हाम्रो चाहना हो ।’

रास्वपा अहिले संगठन निर्माणसँगै सरकारका कामप्रति निरन्तर खबरदारीमा रहेको उनको भनाइ छ ।