मन्त्रीले काम गर्न नदिएको राज्यमन्त्रीको गुनासो

काठमाडौं, १४ असार । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला श्रीपाली ठकुरीले आफूले काम गर्नका लागि पाएको अधिकार क्षेत्रमा मन्त्री सुदन किरातीले हस्तक्षेप गरेको आरोप लगाएकी छन् ।
मन्त्रालयद्वारा आयोजना गरिने विभिन्न खाले काम कारबाहीदेखि नीतिगत कुरामा समेत मन्त्री किरातीले आफूलाई बाइपास गरी आफुखुसी काम गर्ने गरेको राज्यमन्त्री श्रीपाली ठकुरीको गुनासो छ ।
उनले भनिन्, ‘म पनि राज्यमन्त्री हो, मन्त्रालयले गरेका राम्रा कामको जस तथा नराम्रा कामको अपजस मैले पनि लिनुपर्छ, तर मन्त्रीज्यूले मलाई बाइपास गरेर एकलौटी काम गर्नुहुन्छ, यसरी कसरी काम हुन्छ ?’
अहिले निकै चर्चामा रहेको तथा मन्त्री किरातीले काभ्रेको बनेपा नगरपालिका–१४राउत गाउँको माथिल्लो भागमा रहेको इटापु डाँडामा अन्तर्राष्ट्रिय मापदण्डअनुसारको हेलिपोर्ट निर्माण गर्न निजी क्षेत्रको हवाई कम्पनी सिम्रिक एअरलाई दिएको सैद्धान्तिक सहमतिका विषयमा पनि मन्त्री किरातीले आफूसँग तथा सम्बन्धित निकयसँग छलफल एवं सहकार्य नगरिएका कारण समस्या उत्पन्न भएको राज्यमन्त्री श्रीपालीले दाबी गरिन् ।
राज्यमन्त्री श्रीपालीले राजपत्रांकित प्रथम श्रेणी अर्थात् सहसचिवसम्म सरुवा गर्ने अधिकारमाग्दा समेत मन्त्री किरातीले उक्त अधिकार नदिए पछि उनीहरुबीच चर्काचर्की सुरु भएको मन्त्रालय स्रोतले जनाएको छ । मन्त्री किरातीले राज्यमन्त्री श्रीपालीलाई सहसचिवसम्म पदस्थापन गर्ने अधिकार मात्रै दिएको बताइएको छ ।
पर्यटनमन्त्री किरातीले मन्त्रालयमा आन्तरिक कर्मचारी सरुवामा पनि राज्यमन्त्रीलाई बाइपास गर्ने र हेपाहा चरित्र देखाएको भन्दै श्रीपालीले आक्रोश व्यक्त गरेकी छन् ।
मन्त्रालयमा आयोजना हुने कार्यक्रममा मन्त्री अनुपस्थित हुने गरेका स्वयं मन्त्रालयकै कर्मचारी बताउँछन् । मन्त्रीले राज्यमन्त्रीलाई हेपाहा व्यवहार देखाउने र विवाद मिलाउनुको साटो पेलेरै जान खोजेपछि यो विषय पार्टीसम्म पुगेको बताइएको छ ।
मन्त्री किराती र राज्यमन्त्री श्रीपाली दुवैैजना नेकपा माओवादी केन्द्रका नेता हुन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


