सरकारले निजी क्षेत्रसँगको सहकार्यलाई प्राथमिकतामा राखेको छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, १४ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकको अर्थतन्त्रमा परेको दबाब, अप्ठ्यारा फुकाउन नेपाल उद्योग परिसंघसहित निजी क्षेत्रसँगको सहकार्यलाई प्राथमिकतामा राखेको बताएका छन् ।
नेपाल उद्योग परिसंघ (सिएनआई) का नवनिर्वाचित पदाधिकारीसँग बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गर्दै उनले आर्थिक एवं औद्योगिक विकासका लागि परिसंघबाट प्रत्यक्ष रूपमा नीतिगत तथा व्यावहारिक सुझाव प्राप्त भइरहेको र त्यसलाई सरकाले प्राथमिकतामा राखेको बताए ।
परिसंघका नवनिर्वाचित अध्यक्ष राजेशकुमार अग्रवालको नेतृत्वमा गएको परिसंघ पदाधिकारीको टोलीले प्रधानमन्त्रीसँगको भेटमा पुँजीगत खर्च समयमै हुने वातावरणका लागि आग्रह गरेको थियो । परिसंघ अधयक्ष राजेश अग्रवालले बजेटको सफल कार्यान्वयनका लागि सरकारले घोषणा गरेको अनुगमन समितिमा निजी क्षेत्रको प्रतिनिधित्व गराउन आग्रह गरे ।
बजेटले लिएको छ प्रतिशतको आर्थिक बृद्धि हासिल गर्न, अर्थतन्त्रलाई चलायमान बनाउन खुकुलो मौद्रिक नीति आवश्यक रहेकोमा अग्रवालले जोड दिए । उनले स्वदेशी उत्पादनको प्रवर्द्धन एवं सरकारको राजस्व बढाउन चोरी पैठारी नियन्त्रण गर्न निर्मम ढंगले प्रस्तुत हुन आग्रह गरे ।
हालै प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा भएको विद्युत् निर्यात तथा विद्युतीय भुक्तानीसम्बन्धी समझदारी छिटो कार्यान्वयनमा लैजानुपर्नेमा पनि उनले जोड दिए ।
प्रधानमन्त्रीसँगको भेटमा उपाध्यक्षहरू वीरेन्द्रराज पाण्डे, अमित मोर, भीम घिमिरे, स्थायी आमन्त्रित पदाधिकारीहरु छायाँ शर्मा, गोकुल भण्डारी, महानिर्देशक दिपकराज जोशी सहभागी थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


