नागरिकता प्राप्त गर्न सफल पीडितलाई दिपेन्द्र झाको बधाई

महोत्तरी, १४ असार । जनता समाजवादी पार्टी नेपालका नेता दिपेन्द्र झाले आफ्नै देशको नागरिक बन्नका लागि लामो संघर्ष गरेर भएपनि नागरिकता पाउनु उपलब्धी भएको बताएका छन् ।
महोत्तरीको जलेश्वरमा आयोजित एक कार्यक्रममा मधेश प्रदेशका पूर्वमुख्यन्यायाधिवक्ता समेत रहेका नेता झाले आफ्नै देशको नागरिक बन्नका लागि आन्दोलन गरेर भएपनि नागरिकता प्राप्त गर्न सफल भएकोमा नागरिकता पीडितहरुलाई बधाई समेत दिएका हुन् ।
राज्यविहिन मधेसी युवा संघर्ष समितिले आयोजना गरेको नागरिकता समस्या र कानुनी प्रावधान सम्बन्धि अन्तरक्रिया कार्यक्रममा उनले नागरिक बन्नका लागि नागरिकता पीडितहरुले गरेको पहल र कानुनी प्रावधानबारे मन्तव्य राखेका थिए ।
कार्यक्रममा जलेश्वर नगरपालिकाका प्रमुख सुरेश साह सोनारले नागरिकता पीडितको लागि वडा र पालिकाबाट हुने सम्पुर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
समाजसेवी सन्तोष साहले आगामी दिनमा नागरिकता पीडितलाई चाहिने सम्पुर्ण सहयोग गर्ने प्रतिबद्धता जनाए ।
नागरिकता पीडितका लागि कानुनी लडाईमार्फत सफलता दिलाउन सफल भएका झालाई भर्खर नागरिकता प्राप्त गरेका बादल चौधरी र ब्राइत चौधरीले सम्मान समेत गरेका थिए ।
समितिका अध्यक्ष अर्जुन साहको अध्यक्षतामा आयोजित कार्यक्रममा जलेश्वर नगरपालिका वडा नम्बर–२ का वडाध्यक्ष बरुण दाहाल, धर्मेन्द्र रायलगायतकाहरुको उपस्थिती रहेको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


