बारा, १४ असार । मिटरब्याजीको आरोपमा बारामा हालसम्म १५ जना पक्राउ परेका छन् । जिल्ला प्रशासन कार्यालयको आदेशमा बारा प्रहरीले आरोपित व्यक्तिहरुलाई पक्राउ गरेको हो ।

बारामा ३ हजार ३२२ उजुरीमध्ये हालसम्म २३० वटा उजुरीमाथि छलफल भएकोमा १४९ वटा फस्र्योट भइसकेको प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले बताए ।

जिल्ला प्रशासन कार्यालयको आदेशमा बारा प्रहरीले १५ जना आरोपित व्यक्तिलाई पक्राउ गरेको थियो । पक्राउ परेकामध्ये कतिपय रकम मिलान र सहमति भएपछि छुटेका छन् ।

धेरै उजुरी परेका कारण कार्यालयको काम नै प्रभावित हुन नदिन तीन वटा टोली बनाएर दैनिक ३० वटा उजुरीको छलफल गराउने र सहमतिमा किनारा लगाउने काम भइरहेको प्रजिअ सापकोटाले बताए ।

यता जितपुरसिमरा नगरपालिका बस्ने सिर्जना गिरी मिटरब्याज र बैङ्किङ कसुर मुद्दा अन्तर्गत पक्राउ परेकी छन् ।