जनकपुरधाम, १३ असार । नेपाल रेल्वे कम्पनी लिमिटेडले कम मुआब्जा दिन लागेको भन्दै मुआब्जा पीडितहरु आन्दोलित बनेका छन् ।

कम्पनीले निर्धारण गरेकोभन्दा कम मुआब्जा दिन लागिएको रेल्वे मुआब्जाबाट पीडितहरुले आरोप लगाएका हुन् ।

जनकपुर–जयनगर–बर्दिबास रेल्वे ट्रैक विस्तारका क्रममा जग्गा परेका जग्गाधनीहरुले आफूहरुलाई कम मुआब्जा दिन लागिएको आरोप लगाएका छन् ।

रौतहट चन्द्रनगरका उदय सापकोटाले आफ्नो जग्गा मिथिला नगरपालिका वडा नम्बर–९ मा रहेको र सो जग्गा रेल्वे ट्रैक निर्माणकालागि अधिग्रहण गरिएको बताए । यद्यपि नेपाल सरकारले निर्धारण गरेको वर्गिकरणको आधारमा मुआब्जा नदिने भएपछि गत वर्षदेखि नै कार्यालय धाईरहेको उनले दुःखेसो पोखे ।

उनका अनुसार लालगढका १३/१४ जना जग्गाधनीहरु जग्गा कुन वर्गिकरणमा पर्ने खुलाई दिन भनी निवेदन दिएपनि त्यसको कुनै सुनुवाइ नगरिएको आरोप लगाए ।

गोरखापत्रमा प्रकाशित एक सूचनाका अनुसार मिथिला नगरपालिका वडा नम्बर–९ स्थित ट्राफिक चोकबाट लालगढ जाने बाटोभित्र ५० मिटरसम्मका जग्गालाई ३५ लाख प्रतिकठ्ठाको दरले मुआब्जा दिइने भनिएको छ । तर, घुस दिन नमानेपछि आफूहरुको जग्गाको मूल्यांकन घटाएर ९ लाख रुपैयाँ प्रतिकठ्ठाको दरले मात्र मुआब्जा दिन लागिएको सापकोटाले गुनासो गरे ।

उनले भने, ‘यहाँका कार्यालय प्रमुखलाई प्रतिकठ्ठा २ लाख रुपैयाँ घुस दिन नमानेपछि आफूहरुको जग्गाको मूल्यांकन घटाइएको छ, जुन हामीलाई मान्य छैन ।’

यता रेल्वे विभागका साइट इन्जिनियर विनोद ओझाले मुआब्जा वितरणको कार्य अन्तिम चरणमा रहेको र केही जग्गाधनीहरु मात्रै बाँकी रहेको बताए । उनले मुआब्जा निर्धारण समितिले तोकेको अनुसार नै आफूहरुले भुक्तानी गरिरहेको जानकारी दिए ।