जनकपुरधाम, १३ असार । मधेश प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतको स्वास्थ्य निर्देशनालयले प्रदेश अन्तर्गत रहेका सबै निजी स्वास्थ्य संस्थाहरुलाई असार मसान्तभित्र अनिवार्य रुपमा निर्देशनालयबाट स्वीकृति लिन अनुरोध गरेको छ ।

निर्देशनालयले मधेश प्रदेशका विभिन्न पालिका तथा जिल्लामा विभिन्न निकायबाट अनुमति लिई सञ्चालनमा रहेका निजी अस्पताल, क्लिनिक, डाइग्नोस्टिक सेन्टर लगायतलाई यही असार भित्र अनिवार्य रुपमा निर्देशनालयमा सुचिकृत गराउन सार्वजनिक सूचना जारी गरेको हो ।

असारभित्र अनुमती नलिई सञ्चालन गरेको पाइएमा कानुन अनुसार कारबाही गरिने निर्देशनालयले जनाएको छ ।

’मधेश प्रदेशका विभिन्न पालिका/जिल्लामा विभिन्न निकायबाट अनुमति लिई सञ्चालनमा रहेका निजी अस्पताल, क्लिनिक, डाइग्नोस्टिक सेन्टरलाई २०८० असार मसान्त भित्र अनिवार्य रुपमा यस निर्देशनालयमा सुचिकृत गराउनु हुन अनुरोध छ,’ निर्देशनालयले जारी गरेको सूचनामा भनिएको छ, ’कुनै निकाबाट स्वीकृत नभएका स्वास्थ्य संस्थाहरुलाई मापदण्ड पुरा गरी यही असार भित्र अनिवार्य अनुमति लिन जानकारी गराइन्छ । असार पश्चात अनुमती नलिई सञ्चालनमा रहेका स्वास्थ्य संस्थालाई कानुन बमोजिम कारबाही हुने जानकारी गराइन्छ ।’ निर्देशनालयले सूचिकृतका लागि कार्यालयमा नै पुगेर वा कार्यालयको इमेल [email protected] मा कागजपत्र सहितको विवरण पठाउन अनुरोध गरेको छ ।