मापदण्ड पालना नगरी सडक ढलान गरेपछि स्थानीयद्वारा काममा अवरोध

जनकपुरधाम, १३ असार । धनुषाको लक्ष्मीनियाँ गाउँपालिकामा मापदण्ड पालना नगरी सडक ढलान गरेपछि स्थानीयबासीले काममा रोक लगाएका छन् ।
गाउँपालिका कार्यालय अगाडिको सडक ढलान गर्दा ग्राभेल नओच्छ्याई माटोमाथि नै ढलान गरेको र अत्यधिक माटो मिसिएको गिट्टी प्रयोग गरेको देखेपछि स्थानीयले काममा रोक लगाएका हुन् ।
सोमबार मापदण्ड अनुसार ढलान नगरेपछि विरोध गरेका स्थानीयले मंगलबार पनि त्यस्तै काम गरेपछि ठेकेदारको काममा रोक लगाएका हुन् । धनुषाधामको रामेश्वर निर्माण सेवाले गरेको काम कमसल भएको स्थानीय गणेश साहले बताए । उनका अनुसार गुणस्तरहिन काम नगर्नका लागि आग्रह गरेपनि माटोमै ढलान गर्ने काम जारी राखेपछि रोक लगाउनु परेको छ । सडक डिभिजन कार्यालय जनकपुरको करिब एक करोड रुपैयाँ बजेटबाट यो सडक ढलान भइरहेको छ ।
सडक डिभिजन कार्यालय धनुषाका इन्जिनियर दुर्गा प्रसादका अनुसार ढलान गर्दा भुइँमा १५ सेन्टिमिटर ग्राभेल, त्यसमाथि १२ एमएमको छड ओछ्याएर गुणस्तरीय सफा गिट्टी, बालुवा र सिमेन्टको मसालाले २० सेन्टिमिटर बाक्लो ढलान गर्नुपर्नेछ । ढलान सडकको चौडाइ साढे पाँच मिटरसम्मको हुनुपर्नेछ । तर निर्माणस्थलमा भने यो कुनै मापदण्डको पालना गरिएको छैन । स्थानीयले काम रोकेपछि सडक डिभिजनले तत्काल काम नगर्न ठेकेदारलाई निर्देशन दिएको छ ।
गुणस्तरहीन कामलाई सच्याउन र मापदण्ड अनुसार मात्र काम गर्न सडक डिभिजन जनकपुरधामका प्रमुख अरविन्द लाल कर्णले निर्देशन दिएका छन् । उनले सडक ढलानस्थलको तस्वीर देखेपछि गलत भएको स्वीकार गर्दै तत्काल रोक्न निर्देशन दिएका हुन् ।
ढलान भइरहेको ठाउँको साइट हेर्ने जिम्मा पाएका इन्जिनियरसमेत रहेका दुर्गा प्रसादका अनुसार रामेश्वर निर्माण सेवा, धनुषाधामले ५ सय ३२ घनमिटर बाटोमा आरसिसी ढलान गर्न १४ असार २०७८ मा भ्याटसहित १ करोडमा टेण्डर मार्फत सम्झौता गरेको थियो । अहिलेसम्म निर्माण कम्पनीले ४ सय ४३ घनमिटर सडक ढलान गरिसकेको छ ।
असार मसान्तभित्रै उसले बाँकी काम सक्नु पर्नेछ । आर्थिक मसान्तको अन्तमा काम सुरु गरेर हतारमा कमसल काम गरिरहेको छ । निर्माण कम्पनीले जथाभावी कमसल काम गर्दा मात्र ४ किलोमिटरको दुरीमा रहेका डिभिजन कार्यालयका अधिकारीहरु मुकदर्शक बनेका छन्।
गाउँपालिका कार्यालयका जनप्रतिनिधि त झन् त्यही सडकबाट आउजाउ गर्छन् । तर उनीहरु पनि चुप छन् । जनप्रतिनिधि सडक डिभिजनको कर्मचारी मिलेमतोमा यस्तो गुणस्तरहीन काम भइरहेको स्थानीयको आरोप छ । ‘गाउँपालिका अगाडि नै यस्तो काम हुँदा जनप्रतिनिधि एक शब्द नबोल्नु, नरोक्नुको कारण के हो ?
सबैको मिलेमतोमा भइरहेको छ’, स्थानीय मोहन साह भन्छन् । सडक ढलान हुन थालेपछि बिहानै वडा नं. ७ का वडाध्यक्ष गंगा साह त्यहाँ पुगेका थिए । तर स्थानीयले गुनासो गरेपछि उनी केही प्रतिक्रिया नै नदिई त्यहाँबाट हिँडेका थिए । त्यो सडक उनको वडा नं. ७ को वडा कार्यालयको सामुन्ने पर्छ। जबकी यो बाटो बनाउन सडक डिभिजनले गाउँपालिका र वडा कार्यालयसित समन्वयसमेत गरेको छ ।
लक्ष्मीनियाँ गाउँपालिका अध्यक्ष भोगेन्द्र मिश्रले गुणस्तरहीन काम भइरहेकाले रोकेको स्थानीयबाट जानकारी पाएको बताए ।
‘वडाले काम गर्ने सिफारिस दिएको छ। के कति इस्टिमेट छ, मलाई थाहा छैन’, उनले भने, ‘म अर्को बाटो भएर आउँछु । अरुले आज गुणस्तरहीन काम भइरहेको जानकारी पाएँ ।’
स्थानीय शुभनारायण यादवका अनुसार गत वर्ष पनि यही ठेकेदार कम्पनीले त्यस्तै गरी दुईवटा सडक ढलान गरेको बताए । त्यतिबेला सडक डिभिजन प्रमुख सञ्जय कुमार मिश्रले विरोध गर्नेहरुलाई धम्याएको उनले बताए ।
डेढ महिनाअघि मात्र जनकपुरको सडक डिभिजन कार्यालयबाट सरुवा भएका उनी हाल मिर्चैया सडक डिभिजनमा गएका छन् । यसै वडाका बासिन्दासमेत रहेका मिश्रले गत वर्ष र यसवर्ष पनि गुणस्तरीय काम भइरहेको दाबी गरे ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


