काठमाडौं, १२ असार । नेपालले आइसिसी विश्वकप छनोटको ‘प्लेअफ’ मा युएईसँग खेल्ने भएको छ । खेल जुलाई २ मा हुनेछ ।
जिम्बावेमा भइरहेको समूह चरणको अन्तिम खेलमा युएई आयरल्यान्डसँग १३८ रनले पराजित भएपछि ‘प्लेअफ’मा नेपालसँग खेल्ने भएको हो ।

मंगलबार आइरल्यान्डले दिएको ३ सय ५० रनको विशाल लक्ष्य पछ्याएको यूएई ३९ ओभरमा २ सय ११ रनमा अलआउट भयो । युएईका कप्तान मुहम्मद वसिमले ४५, सञ्चित शर्माले ४४ र बसिल हमिदले ३९ रन बनाए । बलिङतर्फ आयरल्यान्डका जोसुआ लिटिल, एन्डी म्याक्ब्राइन, जर्ज डाकरेल र कर्टिस क्याम्फेरले २–२ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको आयरल्यान्डले निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर ३ सय ४९ रन बनायो ।आयरल्यान्डका पउल स्टर्लिङले १ सय ६२ रन बनाए । यस्तै एन्ड्रियु बलबिर्नेले ६६ र हेरी टेक्टरले ५७ रन बनाए । बलिङतर्फ युएईका सञ्चित शर्माले ३ विकेट लिए ।

आयरल्यान्डले विश्वकप छनोटमा पहिलो जित निकाल्दा यूएई भने जितविहीन भएको छ । आयरल्यान्ड समूह ‘बी’ को चौथो र युएई पाँचौँ स्थानमा रह्यो ।

यस्तै, युएईलाई हराएको आयरल्यान्डले अमेरिकासँग जुन ३० मा ‘प्लेअफ’ खेल्ने छ । यो दुई खेलको विजेताले सातौँ स्थानका लागि खेल्नेछ भने पराजित दुई टोलीले नवौँ स्थानका लागि फेरि अर्को खेल खेल्नेछन् ।

समूह ‘ए’बाट जिम्बावे शीर्ष, नेदरल्यान्ड्स दोस्रो र वेस्ट इन्डिज तेस्रो स्थानमा रहँदै ‘सुपर सिक्स’मा पुगेका छन् । यस्तै समूह ‘बी’बाट श्रीलंका शीर्ष, स्कटल्यान्ड दोस्रो र ओमान तेस्रो स्थानमा रहँदै ‘सुपर सिक्स’मा पुगेका छन् । ‘सुपर सिक्स’का शीर्ष दुई टोलीले आउँदो अक्टोबर–नोभेम्बरमा भारतमा हुने विश्व कप खेल्न पाउनेछन् ।