काठमाडौं, १२ असार । राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले राष्ट्रिय सभा सदस्यलाई सरकारले उपेक्षा गरेको गुनासो गरेकी छन् ।मंगलबार राष्ट्रिय सभाअन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन् ।

प्रतिनिधिसभाका सांसदहरुलाई सरकारले संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्तर्गत पाँच करोड दिने निर्णय बजेटबाट गरेको भए पनि राष्ट्रिय सभा सदस्यलाई भने कुनै कार्यक्रम नल्याएर विभेद गरेको बताइन् ।

राष्ट्रिय सभा सदस्य प्रदेश र स्थानीय तहसम्मै जोडिने भएकाले राष्ट्रिय सभा सदस्यलाई पनि कुनै कार्यक्रम ल्याएर संलग्न गराउनुपर्ने बताइन् ।

विभेदपूर्ण कामलाई संसदीय समिति बसेर छलफल गरी निष्कर्षमा पुर्याउनुपर्ने उनको भनाइ छ । राष्ट्रिय सभा सधैँ ओझेलमा पर्नुपर्ने वातावरणको अन्त्य हुन आवश्यक रहेको उनले बताइन् ।