काठमाडौं, १२ असार । अर्थमन्त्री डा. प्रकाशशरण महतले जिल्ला निर्वाचन कार्यालय खारेज नहुने बताएका छन् । मंगलबार प्रतिनिधि सभाको दोस्रो बैठकमा अर्थमन्त्री महतले जिल्ला निर्वाचन कार्यालय खारेज नहुने स्पष्ट पारेका हुन् ।

उनले जिल्ला निर्वाचन कार्यालय निर्वाचन आयोगले जसरी राख्न चाहन्छ त्यसरी नै रहने बताए । निर्वाचन कार्यालयहरूलाई सबल र सुदृढ बनाउन गर्नुपर्ने आवश्यक काम गर्न सरकार तयार रहेको पनि अर्थमन्त्री महतले बताए ।

उनले निर्वाचन आयोगको आफ्नो स्वतन्त्र अस्तित्व रहने उल्लेख गरे । ‘जिल्ला निर्वाचन कार्यालयहरू जसरी निर्वाचन आयोगले राख्न चाहन्छ, त्यसरी नै रहनेछन् । मेरो पार्टी र यो सरकार निर्वाचन आयोगको स्वतन्त्रतालाई अन्तिम समयसम्म हामी काहीँकतै पनि कम्परमाइज हुन दिँदैनौ । त्यो हाम्रो प्रतिवद्धता हो । हाम्रो विश्वास हो,’ अर्थमन्त्री महतले भने ।