नक्कली भुटानी शरणार्थी प्रकरणमा थप एकजना पक्राउ

काठमाडौं, ११ असार । नक्कली भुटानी शरणार्थी प्रकरणमा थप एकजना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौंको मण्डिखाटारबाट २४ वर्षीय आशिष बुढाथोकीलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी सिताराम रिजालले बताए ।
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजान्छु भन्दै करोडौं असूली गरेको प्रकरणमा प्रहरीले ३० जनालाई प्रतिवादी बनाएर १० जेठमा जिल्ला अदालत, काठमाडौंमा मुद्दा दायर गरेको थियो । त्यसबेला १६ जना मात्रै पक्राउ परेका थिए । पछि प्रहरीले थप दुई जनालाई पक्राउ गरेको थियो ।
पक्राउ परेकामध्ये पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्वउर्जामन्त्री टोपबहादुर रायमाझीसहित १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतले १ असारमा आदेश दिएको थियो ।
प्रतिवादीमध्ये लक्ष्मी महर्जन र टंककुमार गुरुङलाई धरौटीमा छाड्न आदेश भएको थियो । प्रकरणका पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’का छोरा प्रतिक थापा लगायत अझै फरार छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


