काठमाडौं, ११ असार । सातौं प्रधानमन्त्री कप एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल लिग आगामी असार तेस्रो सातादेखि हुने भएको छ । नेपाल भलिबल संघको आयोजनामा आगामी असार २३ देखि ३० गतेसम्म पुरुष तथा महिला भलिबल क्लब लिग हुने भएको हो ।

यसै संस्करणदेखि प्रतियोगितामा प्रधानमन्त्री कप नाम राखिएको छ । संघले सोमबार एक कार्यक्रम आयोजना गर्दै प्रतियोगिताका बारेमा जानकारी दिएको हो । क्लब भलिबल च्याम्पियनसिपमा पुरुषतर्फ आठ र महिलामा ६ टोलीले प्रतिस्पर्धा गर्दैछन् । पाँच महिना अगाडि सम्पन्न क्लब भलिबल च्याम्पियनसिपबाट छनोट भएका टोलीले क्लब भलिबल लिग खेल्न लागेका हुन् ।

पुरुषमा टिपटप हेल्प नेपाल स्पोटर्स क्लब, त्रिभुवन आर्मी, सशस्त्र प्रहरी बलको एपिएफ, नेपाल पुलिस, दावाली मिलन क्लब, केशवलाल स्मृति प्रतिष्ठान, गण्डकी प्रदेश भलिबल क्लब संघ र शैलुङ बागढुङ्गा स्पोटर्स क्लवले चुनौती प्रस्तुत गर्नेछन् । महिलामा भने नेपाल पुलिस, न्यू डायमन्ड युथ स्पोटर्स क्लव, एपिएफ, आर्मी, एभरेस्ट भलिबल क्लब र गण्डकी प्रदेश भलिबल क्लवले प्रतिस्पर्धा गर्नेछन् । प्रत्येक टोलीले तीन जना विदेशी खेलाडी समावेश गर्न पाउने नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले जानकारी दिए ।

पुरुष र महिला दुवै तर्फ शीर्ष तीन स्थान प्राप्त गर्ने टोलीले क्रमशः ६ लाख, तीन लाख र एक लाख ५० हजार रुपैयाँ पाउनेछन् । चौथो स्थानमा रहने टोलीले भने ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताका लागि राष्ट्रिय खेलकुद परिषद्ले ४० लाख रुपैयाँ सहयोग गरेको संघले जनाएको छ । पुरुषतर्फ क्लब लिगको उपाधि भिडन्त तय गर्ने दुई टोलीले पहिलो पटक हुन लागेको काभा क्लब भलिबल च्याम्पियनसिपमा खेल्नेछन् ।

नेपाल भलिबल संघको आयोजनामा पहिलो पटक काभा क्लब भलिबल च्याम्पियनसिप नेपालमा नै हुँदैछ । त्यसका लागि संघले प्रक्रिया अगाडि बढाइसकेको छ । सेन्ट्रल एसियन भलिबल एशोसिएशन (काभा) का अध्यक्ष मोहमेद लथिफले नेपाललाई पहिलो पटक काभा क्लब भलिबल च्याम्पियनसिप आयोजना गर्न दिने संकेत गरिसकेको चन्दले जानकारी दिए । यद्यपि, स्वीकृति पत्र भने आउने बाँकी रहेको उनको भनाइ छ ।