काठमाडौं, ११ असार । मधेसी आयोगले मधेस दिवस मनाउने निर्णय गरेको छ । आयोगको कार्यालयमा बसेको आयोगको ८५ औँ बैठकमा आयोगले मधेस दिवस कहिले मनाउने सम्बन्धमा विज्ञहरूसँग छलफल गरेको छ ।

आयोगका अध्यक्ष डा.विजयकुमार दत्तको अध्यक्षतामा बसेको सो बैठकमा पूर्वमन्त्रीद्वय लालबाबु पण्डित तथा अनिलकुमार झा, सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लाल, पूर्वन्यायाधीश लोकेन्द्र मल्लिक, लोक सेवा आयोगका पूर्व सदस्य ब्रह्मदेव राय, पूर्वसांसद सकलदेव सुतिहार सहितका विज्ञहरूसँग आयोगले मधेस दिवसको मिति निर्क्योल गर्ने सम्बन्धमा छलफल भएको आयोगको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

आयोगले नेपाल र नेपाली, मधेस र मधेसीलाई गौरवान्वित हुने गरेको मिति निर्णय गर्ने र सो को लागि आर्थिक, सामाजिक, राजनीतिक र भौगोलिक आधारहरू मध्ये कुन राम्रो हुने उद्देश्यका साथ आगामी दिनहरूमा सरोकारवालाहरुसँग गहन छलफल गरी सो मितिमा मधेस दिवस मनाउन आयोगले आवश्यक निर्णय गर्ने समेत प्रेस विज्ञप्ति मार्फत जानकारी दिएको छ ।

आयोगले सबै सरोकारवालाहरूसँग मधेस दिवस मनाउन उपयुक्त मिति सम्बन्धी राय/सुझाव समेत सो प्रेस विज्ञप्तिमार्फत माग गरेको छ ।