काठमाडौं, ११ असार । प्रतिनिधि सभा सदस्य डा. तोसिमा कार्कीले लागुपदार्थ दुर्व्यसनमा परेकालाई राख्ने सुधार गृहलाई स्वास्थ्य मन्त्रालय मातहतमा ल्याउनुपर्ने बताएकी छन् ।

उनले लागुपदार्थ दुर्व्यसनमा फसेकालाई अपराधीको जस्तो व्यवहार गर्नु नहुने पनि बताइन् । सांसद कार्कीले समस्याको समाधान मनोसामाजिक पाटोबाट गर्नुपर्ने बताइन् ।

‘विश्व स्वास्थ्य संगठनले लागुपदार्थ दुर्व्यसनलाई रोगको रूपमा लिएको छ । तर हाम्रो परिवेशमा मुख्य समस्या भनेकै यसलाई मनोसामाजिक समस्याभन्दा पनि अपराधको रूपमा मान्नु हो । आजसम्म पनि सुधार गृहहरू गृह मन्त्रालयअन्तर्गत छन् । अपराधी सरह मात्रै व्यवहार गर्ने हो भने यो समस्या बढिरहन्छ,’ सोमबार प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसद कार्कीले भनिन्, ‘लागुऔषध कारोबारी र प्रयोगकर्तालाई एउटै दृष्टिले हेर्न मिल्दैन । अधिकांश प्रयोगकर्ताहरू १६ वर्षमुनिका, मुख्य समस्या साथीको संगतले र विभिन्न रोगहरू विशेषतः यौन रोग, एचआईभी, हेपाटाइटिसबाट ग्रस्त हुने देखिन्छ । मूलभूत यसको कारण मनोसामाजिक पाटो समाधान जरुरी छ ।’