जनकपुरधाम, ११ असार । आज लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि मनाइँदैछ ।

संयुक्त राष्ट्र संघको महासभाबाट सन् १९८७ मा घोषणा भइ हरेक वर्ष जुन २६ मा विश्व समुदायलाई लागुऔषधको असर र कारोबारबाट मुक्त बनाउने उद्देश्यका साथ दिवस मनाउने गरिन्छ ।

संयुक्त राष्ट्र संघको विश्व लागुऔषध प्रतिवेदन २०२१ ले वर्षेनि लागुऔषध प्रयोगकर्ता बढ्दै गएको देखाएको छ । त्यस्तै नेपालमा १ लाख ३० हजार ४२४ जना लागुऔषध प्रयोगकर्ता रहेको पछिल्लो प्रतिवेदनमा उल्लेख छ । लागुऔषधका प्रयोगकर्ता तथा कारोबारमा युवा वर्ग संलग्न भएको तथ्याङ्कले देखाउँछ ।

दिवसको अवसरमा सोमबार नयाँ मुस्कान सुधार केन्द्र जनकपुरधाम र नक्टाझिजस्थित पुर्नजीवन सुधार केन्द्रले नगरक्षेत्रभित्र जनचेतनामुलक र्यालीको आयोजना गरेको छ ।

‘लागुऔषध दुरुपयोग विरुद्धको ऐक्यबद्धता, व्यक्ति समाज र राष्ट्रको प्रतिबद्धता’ भन्ने मुल नाराका साथ जिल्ला प्रशासन कार्यालय धनुषा तथा लागुऔषध नियन्त्रण शाखा धनुषाको रोहवर एवम् नयाँ मुस्कान सुधार केन्द्र जनकपुरधामको पहलमा लागुऔषध दुरुपयोग तथा ओसारपसार विरुद्ध अन्तर्राष्ट्रिय दिवस मनाइएको हो ।

स्थानीय रामानन्द चोकस्थित नयाँ मुस्कान सुधार केन्द्रको कार्यालय परिसरबाट निस्केको र्याली अस्पताल रोड, जानकी चोक, शिवचोक हुँदै जानकाी मन्दिरको प्रांगनमा पुगेर जनचेतना सभामा परिणत भएको थियो ।

स्वस्थ्य जीवन जिउने वातावरण सिर्जनाका लागि प्रत्येक वर्ष जुन २८ तारिकका दिन लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाउँदै आएको केन्द्रका प्रशिक्षक रोशन झाले जानकारी दिए । उनले लागुपदार्थ दुरुपयोग विरुद्धको अभियानको रुपमा आफूहरुले यो दिवस मनाउँदै आएको बताए ।

‘सुखी नेपाली समृद्ध नेपालको सपना लागुऔषधमुक्त समाजको परिकल्पना’ नाकाका साथ हामी तपाईंको शहर, गाउँ र टोलमा लागुऔषधमुक्त समाज बनाउन जनचेतनामुलक कार्यक्रम लिएर आएका छौं । हामीसँग हातमा हात मिलाई लागुऔषधमुक्त समाज बनाउन सहयोग गर्नुहोस्,‘ पुर्नजीवन सुधार केन्द्र नक्टाझिजका सञ्चालक अजितम पाण्डेले भने ।