जनकपुरधाम, १० असार । धनुषाको विदेह नगरपालिकाको नगरसभा बहिष्कार गर्दै विरोध प्रदर्शन गरिएको छ । ६ दलिय मोर्चाले नेपाली कांग्रेसका नगर सभापति गणेश साहको नेतृत्वमा नगरसभा बहिष्कार गर्दै विरोध प्रदर्शन गरेको हो ।

उनीहरुले खुल्ला मञ्चमा परिषद गर्नुपर्ने, हालसम्मको आयव्यय विवरण सार्वजनिक गर्नुपर्ने र भ्रष्टाचार बन्द गर्नुपर्नेलगायतका तिन बुँदे मागसहित नगरभित्र विरोध प्रदर्शन गरेका छन् ।

विरोध प्रदर्शनमा उपमेयर आशा देवी झासहित नेपाली कांग्रेसका नगर सभापति गणेश साह, ४ जना वडाध्यक्ष र पूर्व एसएसपी गोविन्द साहलगायत सयौंजनाको सहभागिता रहेको थियो ।

गत आर्थिक वर्षहरुको वार्षिक आयव्यय सार्वजनिक नै नगरि नगरसभा गर्नलागेकोप्रति उनीहरुले आपत्ति जनाएका छन् । गत आर्थिक वर्षहरुमा शिक्षा, स्वास्थ्य, कृषि, भौतिक पुर्वाधार लगायतका विभिन्न शिर्षकहरुमा विनियोजित रकमहरु मध्ये के कति रकम खर्च भएको वा खर्च हुन बाँकी रहेको विषयहरुमा नगरसभा सदस्यहरुसँग कुनै प्रकारको छलफल वा जानकारी नगरी नगरप्रमुख बेचन दासले आफ्नो मनोमानी गरी प्रक्रिया विपरित गैरजिम्मवार ढंगले काम गरिरहेको उनीहरुको आरोप छ ।

उनीहरुले स्थानिय सरकार सञ्चालन ऐन २०७४ र गाँउ/नगर/जिल्ला सभा सञ्चालन गर्न व्यवस्था गरेको ऐन २०७७ समेतको विपरित गणपुरक संख्या समेत नपुग्ने गरी हुन गइरहेको नगरसभा गैरकानुनी भएकोले तत्काल स्थगित गरी गत आर्थिक वर्षहरुको आयव्यय सार्वजनिक तथा आगामी आर्थिक वर्षको निती तथा कार्यक्रमको बारेमा विषयगत समिति तथा कार्यपालिका सदस्यहरुसँग छलफल गरी नगरसभा गर्न नगरप्रमुखलाई अपिल गरेका छन् ।