उपमेयरको नेतृत्वमा वृन्दावन नगरपालिकाको नगरसभा बहिष्कार

रौतहट, १० असार । रौतहटको वृन्दावन नगरपालिकाको आगामी आर्थिक वर्ष २०८०/८१ को निती कार्यक्रम तथा वार्षिक बजेट ७औं नगरसभाप्रति नगरसभाका बहुमत सदस्यहरुले आपत्ति जनाएका छन् ।
गत आर्थिक वर्ष २०७९/८० को वार्षिक आयव्यय सार्वजनिक नै नगरि नगरसभा गर्नलागेकोप्रति उनीहरुले आपत्ति जनाएका हुन् ।
गत आर्थिक वर्षमा शिक्षा, स्वास्थ्य, कृषि, भौतिक पुर्वाधार लगायतका विभिन्न शिर्षकहरुमा विनियोजित रकमहरु मध्ये के कति रकम खर्च भएको वा खर्च हुन बाँकी रहेको विषयहरुमा नगरसभा सदस्यहरुसँग कुनै प्रकारको छलफल वा जानकारी नगरी नगर प्रमुखले आफ्नो मनोमानी प्रक्रिया विपरित गैरजिम्मवार ढंगले काम गरिरहेको उनीहरुको आरोप छ ।
उनीहरुले स्थानिय सरकार सञ्चालन ऐन २०७४ र गाँउ/नगर/जिल्ला सभा सञ्चालन गर्न व्यवस्था गरेको ऐन २०७७ समेतको विपरित गणपुरक संख्या समेत नपुग्ने गरी हुन गइरहेको नगरसभा गैरकानुनी भएकोले तत्काल स्थगित गरी गत आर्थिक वर्षको आयव्यय सार्वजनिक तथा आगामी आर्थिक वर्षको निती तथा कार्यक्रमको बारेमा विषयगत समिति तथा कार्यपालिका सदस्यहरुसँग छलफल गरी नगर सभा गर्न नगर प्रमुखलाई अपिल गरेका छन् ।
नगरसभा स्थगित नगरे बहुमत सदस्यहरुले सभालाई बहिष्कार गर्ने चेतावनीसमेत दिएका छन् ।
उपमेयर संगिता कुमारी रामको नेतृत्वमा वडा नम्बर–२ देखि ७ सम्मका वडाध्यक्ष र कार्यपालिका सदस्य तथा वडा सदस्यहरु विरोधमा उत्रेका छन् ।


तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


