काठमाडौं, १० असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले उपराष्ट्रपतिको पद आवश्यक नभएको बताएका छन् ।  आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद झाले देशमा उपराष्ट्रपतिको पद आवश्यक नभएको बताए ।

उनले हालसम्म उपराष्ट्रपतिको पदले सम्झन लायक कुनै पनि काम गर्न नसकेको भन्दै यसको औचित्य माथि नै प्रश्न उठाए । उनले उपराष्ट्रपतिले गर्ने काम राष्ट्रिय सभा अध्यक्षले नै गर्न सक्ने व्यवस्था गर्नुपर्ने बताए ।

उनले भने, ‘उपराष्ट्रपतिको पद संवैधानिक अभ्यास गरेपश्चात् आजसम्म ५ हजार ११५ दिन भएको रहेछ । ४ वटा कार्यकाल, तीन वटा अनुहार । त्यो हेर्दै गर्दाखेरी सम्झिन लायकको कुराहरू के छ त ? ५ हजार ११५ दिनले यो पदले सम्झिन लायक कुनै पाँच वटा कुरा हामी सम्झिन सक्छौँ ? यसले दिएको हामीलाई ? त्यसैले गर्दा त्यो सम्झिन सक्दैनौँ भने यो पदको औचित्यको जवाफ सम्झिन सक्ने वा नसक्ने त्यो ५ हजार ११५ दिनले नै दिन्छ । त्यसैले गर्दा पनि हामीले सोच्नुपर्छ । हामी यो पदको परिकल्पना गर्दैनौँ । हामी यो पद आवश्यक छैन भन्छौँ । र राष्ट्रिय सभाको अध्यक्षले नै यसको काम गर्न सक्छ भन्छौँ ।’

उनले कर र खर्च कटौतीका लागि अनावश्यक पद राखिरहनु नहुने बताए ।