जनकपुरधाम, ९ असार । जनकपुरधाममा निःशुल्क स्वास्थ्य जाँच शिविर सम्पन्न भएको छ ।

केहीदिन पूर्व प्रादेशिक अस्पताल सडकखण्डमा स्थापना भई सञ्चालनमा आएको मंगलम् डाइग्नोष्टिक सेन्टरको आयोजनामा शनिबार शिविर सम्पन्न भएको हो ।

स्थानीय तिरहुतिया गाछिमा शनिबार बिहान ७ बजेदेखि १० बजेसम्म सञ्चालन गरिएको सो शिविरमा १३३ जनाले रगत तथा अन्य स्वास्थ्य जाँच गराएको मंगलम्का प्रवक्ता घनश्याम मिश्रले जानकारी दिए ।

एनका अनुसार ८९ पुरुष तथा ४४ जना महिलाहरुले स्वास्थ्य जाँच गराएर लाभ लिएका छन् ।

यता शनिबार आयोजित शिविरमा सहभागी भई जाँच गराएका विरामीहरुलाई मंगलम्को कार्ड प्रदान गरिने र आवश्यक परेको बेला जाँच गराउन आउँदा २० प्रतिशत छुट समेत प्रदान गरिने जानकारी प्रवक्ता मिश्रले दिए ।

अवैध रुपमा प्याथोलोजी एवम् विभिन्न चेकजाँचमा सेवाग्राहीहरु ठगिँदै आएको बेला मंगलमले गुणस्तरीय मात्र नभई सस्तो र भरपर्दो सेवा दिने उद्देश्य राखेर अघि बढ्नु यस क्षेत्रका सेवाग्राहीहरुको लागि वरदान साबित हुने विश्वास प्रवक्ता मिश्रले व्यक्त गरे ।

वीरगञ्जमा एक दशक भन्दा बढी समयदेखि सेवा दिँदै आफ्नो छुट्टै पहिचान स्थापित गर्न सफल मंगलमले जनकपुरधाममा पनि सेवा विस्तार गरेको छ ।

महोत्तरीको जलेश्वर नगरपालिकाको साडीमा जन्मेका डा.एके ठाकुरले आफ्नो जन्मभूमिमा सेवा दिने मुख्य उद्देश्यले डायग्नोष्टिक सञ्चालनमा ल्याएकाले निःशुल्क जाँच शिविरलाई अभियानको रुपमा अघि बढाउने बताए ।

धनुषा महोत्तरी मात्र नभई मधेश प्रदेशकै विभिन्न ठाउँमा स्वास्थ्य सम्बन्धी जनचेतनामुलक कार्यक्रमका साथै स्थानीय तहको समन्वयमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिने उनले प्रतिबद्धता व्यक्त गरेका छन् ।