काठमाडौं, ९ असार । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले गठबन्धनले चित्त बुझ्नेगरी काम नगरे गठबन्धन फेरिने बताएका छन् ।

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

महामन्त्री थापाले गठबन्धन ठिक ढंगले चलेन र चित्त बुझेन भने गठबन्धन फेर्नेकुरा नौलो नभएको बताए ।

उनले नेपाली कांग्रेसले सरकार छोड्नुपर्छ कि भन्ने डरले चुनावअघि नै गठबन्धन गर्नु गलत भएको बताए । थापाले सरकार छोड्नपरे पनि नडराइकन एक्लाएक्लै चुनाव लड्न कांग्रेसले सक्नुपर्ने बताए । महामन्त्री थापाले गठबन्धन फेरिनु र नयाँ सरकार बन्नु कुनै नौलो कुरा नभएको जिकिर गरे ।

उनले समाजवादी मोर्चामा अझै नेकपा एमाले पनि थपिएर कम्युनिष्टहरु एकै ठाउँमा भएपनि कांग्रेसलाई फरक नपर्ने बताए । उनले संसदमा समानुपातिक निर्वाचन प्रणाली नराख्न आग्रह गरे ।

महामन्त्री थापाले समाजका समस्याको चिन्तनका केन्द्रमा नेपाली कांग्रेसलाई ल्याउनुपर्ने बताए ।