पोखरा, ९ असार । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले न्यायाधीशहरूले न्याय सम्पादन निष्पक्ष गरिदिएमा न्याय मर्न नपाउने बताएका छन् ।

मुख्य न्यायाधिवक्ताको कार्यालय गण्डकी प्रदेश स्थापनाको पाँच वर्ष पुगेको अवसरमा शनिबार आयोजित ‘कार्यालयबाट भएका उपलब्धि, चुनौती, अवसर र भविष्य’ विषयक अन्तक्र्रियामा उनले यस्तो बताएका हुन् ।

न्याय सम्पादन गर्दा दबाबमा भन्दा पनि न्याय मर्न नदिने किसिमबाट न्यायाधीशहरूले न्याय सम्पादन गर्नुपर्ने उनको सुझाब छ ।

न्यायालयबाट हुने निर्णय विवादास्पद हुन नहुने बताउँदै उनले भीडको अवस्थालाई हेरेर निर्णय गर्न नहुने भनाइ राखे ।

सञ्चार विधेयक पनि बनाएर सञ्चार क्षेत्रलाई मर्यादित बनाउने पक्षमा आफू रहेको उनको भनाइ थियो । पछिल्लो समय सामाजिक सञ्जाल र विद्युतीय सञ्चारमाध्यममा आउने समाचार भ्रमपूर्ण भएकाले ती सञ्चारमाध्यमलाई नियमन गर्न प्रेस काउन्सिल जिम्मेवार भएर लाग्नुपर्नेमा उनको जोड थियो ।