काठमाडौं, ९ असार । विश्वकप क्रिकेट छनोटअन्तर्गत नेदरल्यान्ड्ससँगको खेलमा नेपाल ७ विकेटले पराजित भएको छ ।

नेपालले दिएको १६८ रनको सामान्य लक्ष्य नेदरल्यान्ड्सले २८ ओभर १ बलमा मात्रै तीन विकेट गुमाएर भेट्टायो ।

नेदरल्यान्ड्सका म्याक्स ओ डाउडले सर्वाधिक ९० रन बनाए । नेपालका सन्दीप लामिछानेले दुई र गुल्सन झाले एक विकेट लिए ।

यसअघि जिम्बावेको टाकासिंगा स्पोर्ट्स क्लबमा नेदरल्यान्ड्सले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपाल ४४ ओभर ३ बलमा १ सय ६७ रनमा अलआउट भयो ।

नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३३ रन बनाए । यस्तै, सन्दीप लामिछानेले २७, गुल्सन झाले १५, दिपेन्द्रसिंह ऐरीले १४, कुशल मल्लले १२, आरिफ शेखले ६, भीम सार्कीले २२, कुशल भुर्तेलले २७ र करण केसीले एक रन बनाए । आशिफ शेखले खाता पनि खोल्न सकेनन् ।

नेदरल्यान्ड्सका लोगन भान बीकले ४ विकेट लिए । आजको हारसँगै नेपाल सुपर सिक्समा पुग्न असफल भएको छ । समूह ए बाट अमेरिका यसअघि नै बाहिरिसकेको छ । समूह ए बाट जिम्बावे, वेष्ट इन्डिज र नेदरल्यान्ड्स सुपर सिक्समा पुगेका छन् ।

नेपालले आफ्नो खेलमा अमेरिकालाई हरायो भने वेष्ट इन्डिज, जिम्बावे र नेदरल्यान्ड्सँग पराजित भयो ।