काठमाडौं, ९ असार । जनता समाजवादी पार्टी नेपालको केन्द्रीय समितिको बैठकले विधानको मस्यौदालाई अनुमोदन गरेको छ । उक्त अनुमोदित विधानको मस्यौदा आइतबारदेखि सुरु हुने विधान अधिवेशनमा प्रस्तुत हुने बताइएको छ ।

सशस्त्र जनयुद्ध, जनआन्दोलन र मधेस जनविद्रोह जस्ता राजनीतिक संघर्ष र आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षार्थ गठित पार्टीसम्बद्ध समाजवादी मोर्चालाई पार्टीको केन्द्रीय समितिको बैठकले अनुमोदन गरेको जनाइएको छ ।

केन्द्रीय कार्यकारिणी समिति र राजनीतिक समितिका बैठकले गरेका यस अघिका निर्णयहरुलाई बैठकले अनुमोदन गरेको छ ।

निर्वाचनमा अन्तर्घात गर्ने पार्टीका केन्द्रीय सदस्यहरु दीपेन्द्र नेम्वाङ, देउकुमार नेम्वाङ, महेन्द्र चौधरी, मनोरञ्जन गोइत र धर्मेन्द्र मरवैतालाई पार्टी सदस्यबाट निष्कासन गर्ने निर्णय गरेको छ ।

छानबिन समितिको प्रतिवेदनको सिफारिस अनुसार पार्टीका केही केन्द्रीय नेताहरुलाई नसिहत दिने निर्णय भएको छ । कारबाहीको निर्णय उपर चित्त नबुझेमा सम्बन्धित व्यक्तिले १५ दिनभित्र पार्टीको अनुशासन आयोगमा निवेदन दिन सक्नेछन् ।