अध्यक्ष, उपाध्यक्ष र अधिकृतको नातेदार भर्तीकेन्द्र बन्यो जनकनन्दिनी गाउँपालिका !

जनकपुरधाम, ९ असार । धनुषाको जनकनन्दिनी गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकिय अधिकृतले ऐन नियम मिचेर आफन्त एवं नातेदारलाई कार्यालयमा जागिर लगाएका छन् ।
गाउँपालिका अध्यक्ष दिपिन देव यादव, उपाध्यक्ष कमला सहगल र प्रमुख प्रशासकिय अधिकृत अयोधि दासले ऐन नियम मिचेर आफन्त एवं नातेदारलाई जागिरे बनाएका हुन् ।
अध्यक्ष यादव र उपाध्यक्ष सहगलले पालिकामा विभिन्न शिर्षकमा खुलेआम भ्रष्टाचार गरेका छन् भने त्यसमा अधिकृत दासले साथ दिँदै मौकामा चौका हानेर आफ्नो बुहारीलाई जागिरे बनाएका छन् ।
अध्यक्ष र उपाध्यक्षले ऐन नियमको धज्जी उडाउँदै पालिकाको कार्यालयदेखि विभिन्न पदमा आफन्त, नातेदार भर्ती गरेका छन् भने आफ्ना बुहारीलाई भर्ती गरेर प्रमुख प्रशासकिय अधिकृत दासले उनीहरुलाई साथ दिएका छन् ।
सो पालिकाको हरेक क्षेत्रमा भ्रष्टाचारै भ्रष्टाचार भइरहेको स्थानीय युवा इन्द्रजित गोइतले आरोप लगाएका छन् । उनले भने, ‘यहाँ भौतिक पूर्वाधारमा भ्रष्टाचार, शिक्षामा भ्रष्टाचार, रोजगारमा भ्रष्टाचार र भर्खरै असार ७ गते प्रकाशित अनमि सहायक चौथो तहको अन्तिम नतिजा प्रकाशन गरिएको स्वास्थ्य क्षेत्रमा त झन अत्याचार नै भएको देखिएको छ ।’
यसअघि केहिदिन अगाडि प्रकाशित नतिजाबाट पालिका अध्यक्ष दिपिन देव यादवका भतिजो रंजन कुमार मरितालाई रोजगार संयोजकमा नियुक्त गरिएको थियो । अहिले फेरि अनमि सहायक चौथो तहको प्रकाशित नतिजाबाट प्रमुख प्रशासकिय अधिकृत र उपाध्यक्षको बुहारीलाई छनौट गरिएको छ ।
गत बैशाख २४ गते अनमि सहायक चौथो तह पदपूर्तिका लागि प्रकाशित सूचना अनुसार जेठ २९ गते लिइएको सेवा सम्बन्धी विषयगत, लिखित परीक्षा र अन्र्तवार्ता जेठ ३२ गते सञ्चालन भएकोमा असार ७ गते पदपूर्ति समितिको निर्णय अनुसार अनमि सहायक चौथो तहमा प्रमुख प्रशासकिय अधिकृत अयोधी दासकी बुहारी नितु कुमारी गुर्मछान र उपाध्यक्ष कमला सहगलकी बुहारी सुमित्रा मैया ठकुरीलाई सफल उम्मेदवार घोषित गरिएको छ । अन्य उम्मेदवारहरु सुदिक्षा सहगल र बैनिशा खरेलको नाम वैकल्पिकमा राखिएको छ ।
स्थानीय धर्मेन्द्र गोइतले भने, ‘जनताका छोराछोरी परीक्षाबाट उक्त पदक लागि छनौट नहुनु र जनकनन्दिनीका उच्च स्तरका कर्मचारी तथा पदाधिकारीको आफन्त नियुक्त गर्नु लज्जास्पद हो ।’
‘यहाँ पढेलेखेका युवाहरु कामको खोजीमा भौतारिरहेका छन् तर राजनीतिक दलको आडमा पालिका प्रमुख एवं कार्यकारी अधिकृत हुने वित्तिकै जुनसुकै नियम कानूनलाई लत्याउँदै अनभिज्ञ व्यक्तिहरु पनि जागिर हुने रैछन भन्ने उदाहरण हो, ‘उनले भने ।
भर्तीकेन्द्र बनाउनमा साथ दिने प्रमुख प्रशासकिय अधिकृत पनि चतुर छन् । खुलेआम भ्रष्टाचार गर्न पल्केका अधिकृत दास मौका छोपी अध्यक्ष र उपाध्यक्षको भ्रष्टाचारमा साथ दिँदै आफ्नै बुहारी नितु कुमारी गुर्मछानलाई अनमि सहायक चौथो तहमा नियुक्त गरेको उनको आरोप छ ।
यस सम्बन्धमा पालिका अध्यक्ष दिपिन देव यादवले इलाका प्रहरी कार्यालय खजुरीको प्रतिनिधिकिो उपस्थितीमा खुला परीक्षा भएकोमा यसमा कुनै चलखेल नभएको दाबी गरेका छन् ।
उनले नतिजा समेत प्रशासनकै रोहबरमा प्रकाशन गरिएकोले यस्ता निराधार आरोप लगाउनु अशोभनीय रहेको बताए । अध्यक्ष यादवले दक्ष र सक्षम उम्मेदवारलाई नै परीक्षामार्फत छनौट गरिएको र यसमा अध्यक्ष, उपाध्यक्ष अथवा प्रशासकिय अधिकृतको नातेदार पर्नु संयोग मात्र हुनसक्ने दाबीसमेत गरेका छन् ।
यता प्रमुख प्रशासकिय अधिकृत अयोधि दासले आफूहरुले कार्यविधि अनुसार नै उम्मेदवारको नाम छनौट गरेको दाबी गरेका छन् । यस्तोमा कसैको नातेदार पर्नु संयोग मात्र हुनसक्ने उनको भनाइ छ । उनले यसमा कसैलाई शंका लागे सम्बन्धित ठाउँमा उजुरी दिन आह्वानसमेत गरेका छन् ।


तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


