मधेस अपहेलित, उपेक्षित र दयनीय अवस्थामा रहेको महन्थ ठाकुरको गुनासो

काठमाडौं, ८ असार । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले मधेस अपहेलित, उपेक्षित र दयनीय अवस्थामा रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा विभिन्न मन्त्रालयअन्तर्गत विनियोजित बजेटमाथिको छलफलमा उनले मधेसको आर्थिक, सामाजिक र सांस्कृतिक अवस्थाप्रति संवेदनशील बन्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका हुन् ।
‘सीता, जनक र गौतम बुद्धको जन्मभूमि मधेस आज अपहेलित, उपेक्षित र दयनीय अवस्थामा छ । बेरोजगारीका कारण युवाहरू विदेशिन बाध्य छन्,’ ठाकुरले भने ।
उनले नागरिकताको विषय, लोकतान्त्रिक मधेस आन्दोलन र सीमा विवादका विषयमा समेत सरकारको ध्यानाकर्षण गराए । छलफलका क्रममा सांसद प्रदीप यादवले देशभरका कारागारको अवस्था सुधार गर्नुपर्ने बताए ।
‘सरकारको नीतिविपरीत कारागारहरू सुधार गृहजस्ता छैनन्, यातना गृहजस्ता छन्,’ उनले भने । ठाकुरले वीरगञ्जको कारागार जीर्ण अवस्थामा रहेको भन्दै तत्काल सुधार र व्यवस्थापनका लागि गृहमन्त्री नारायणकाजी श्रेष्ठको ध्यानाकर्षणसमेत गराए ।
उनले सीमामा नेपाली सुरक्षाकर्मीको उपस्थितिबारे समेत सरकारको ध्यानाकर्षण गराए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


