जनकपुरधाम, ८ असार । सर्वोच्च अदालतले राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयक कार्यान्वयन नगर्न दिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता नदिएपछि महोत्तरीमा नागरिकता वितरण सुरु भएको छ ।

जन्मसिद्ध नागरिकका सन्तानले महोत्तरीमा शुक्रबारबाट नागरिकता पाउन थालेका छन् ।

बिहिबार सर्वोच्च अदालतले नागरिकता ऐनको संशोधित व्यवस्था कार्यान्वयन नगर्न यसअघि जारी गरेको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता नदिने आदेश दिएपछि शुक्रबारदेखि नागरिकता वितरण सुरु गरिएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी दिपककुमार पहाडीले जानकारी दिए ।

उनका अनुसार नागकिरता वितरणका लागि वडा कार्यालयलाई सिफारिस गरिदिन जिल्ला प्रशासन कार्यालयले सबै पालिकालाई पत्राचार गरिसकेको छ ।

यता, धनुषामा भने आइतवारबाट जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता वितरण गरिने भएको छ ।

शुक्रबार पालिकाहरुलाई पत्राचार गरिएको र जनप्रतिनिधि तथा वडा सचिवहरुसँग छलफलपछि आइतवारबाट नागरिकता वितरण सुरु गरिने जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ ।